एनआरएनए महिला टोलीद्वारा मन्त्री सीता बादीसँग भेट, सडक बालबालिकाका कार्यक्रमबारे जानकारी

theoutsidenepal.com

द टन न्युज ,काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला उपाध्यक्ष राधिका गुरुङ (टिका) को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग भेटघाट गरेको छ।


भेटका क्रममा संघले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेका विभिन्न परियोजनाहरूको प्रगति र प्रभावबारे मन्त्री बादीलाई जानकारी गराएको थियो। संघका अनुसार ती परियोजनामार्फत सडकबाट उद्धार गरिएका ५० जना बालबालिकाको संरक्षण, शिक्षा तथा पुनर्स्थापनामा सहयोग पुर्‍याइएको छ।


त्यसैगरी, प्रतिनिधिमण्डलले आगामी महिला विश्व सम्मेलनको तयारीबारे पनि विस्तृत जानकारी प्रस्तुत गरेको थियो। सम्मेलनलाई सफल बनाउन भइरहेको तयारी तथा अपेक्षित अन्तर्राष्ट्रिय सहभागिताबारे समेत छलफल गरिएको जनाइएको छ।


भेटमा मन्त्री बादीले एनआरएनएका गतिविधिहरूको प्रशंसा गर्दै सरकारका तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा सञ्चालन गरिने कार्यक्रमहरूमा सहकार्यलाई अझ सुदृढ बनाइने पनि उल्लेख गर्नुभयो।


भेटघाटमा उपाध्यक्ष रोजिना प्रधान राई, महिला संयोजक रश्मि थापा, युरोप क्षेत्रीय महिला संयोजक राधा सिग्देल, एसिया–प्रशान्त क्षेत्रीय महिला संयोजक संगीता सुबेदी अधिकारी, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्रलगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया