नयाँ रेकर्डको लक्ष्यमा थिए निम्स, ब्रोड पिकमै सम्पर्कविहीन भएपछि विश्वभरबाट सकुशल उद्धारको प्रार्थना

theoutsidenepal.com

नयाँ रेकर्डको लक्ष्यमा थिए निम्स, ब्रोड पिकमै सम्पर्कविहीन भएपछि विश्वभरबाट सकुशल उद्धारको प्रार्थना

काठमाडौं — विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जा नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्यसहित पाकिस्तान पुगेका थिए। उनको मूल योजना विश्वकै दोस्रो अग्लो हिमाल जी–टु (K2) आरोहण गर्नु मात्र थियो। तर जी–टु सफलतापूर्वक आरोहण गरेपछि उनले योजना परिवर्तन गर्दै ब्रोड पिक पनि आरोहण गर्ने निर्णय गरेका थिए।

यदि उनले ब्रोड पिक सफलतापूर्वक आरोहण गरेर नेपाल फर्किएपछि चो यु हिमाल पनि बिना अक्सिजन चढ्न सफल भएका भए, ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल बिना अक्सिजन आरोहण गर्ने आफ्नो ऐतिहासिक रेकर्ड पुनः दोहोर्याउने अवसर पाउने थिए।

तर नयाँ इतिहास रच्ने यही यात्राका क्रममा ब्रोड पिक क्षेत्रमा आएको भीषण हिमपहिरोमा उनी सम्पर्कविहीन भएका छन्। हालसम्म उनको अवस्थाबारे आधिकारिक जानकारी आउन सकेको छैन भने खोजी तथा उद्धार अभियान निरन्तर जारी छ।

आरोहणअघि जुलाई २७ मा सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै निम्सले ब्रोड पिकलाई सम्बोधन गरेका थिए। उनले लेखेका थिए, “म अरू केही माग्दिनँ, बस सकुशल चुचुरोमा पुग्न सकूँ र सुरक्षित फर्किन सकूँ।” उनले थप उल्लेख गरेका थिए, “जब म बेस क्याम्पभन्दा एक कदम माथि बढ्छु, कुनै पनि हिमाललाई कहिल्यै सजिलो ठान्दिनँ। म सधैं आफ्नो शतप्रतिशत दिन्छु।”

हिमालका कठिन चुनौतीलाई पटक–पटक जित्दै विश्वलाई प्रेरित गरेका निम्स पुर्जाको सकुशल उद्धारको कामना अहिले नेपाल मात्र होइन, विश्वभरका पर्वतारोही समुदाय, शुभेच्छुक र नेपालीहरूले गरिरहेका छन्।

दर्जनौं पटक असम्भवलाई सम्भव बनाएका निम्स यसपटक पनि सुरक्षित रूपमा फर्किउन् भन्ने अपेक्षासहित हजारौं हात प्रार्थनामा जोडिएका छन्। अहिले सबैको एउटै कामना छ— निम्स पुर्जा सकुशल फर्किउन्।


प्रतिक्रिया