काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा भावी कार्ययोजना सम्बन्धी रणनीतिक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। डा. हेम राज शर्माको अध्यक्षतामा गत मार्च १८ देखि २०, २०२६ सम्म भौतिक तथा जुम माध्यमबाट सञ्चालन भएको उक्त बैठकले आगामी कार्यकालका प्राथमिकता र रणनीतिहरू तय गरेको छ।
बैठकले आर्थिक लगानीदेखि लिएर गैरआवासीय नेपालीहरूको हकहित, वैदेशिक रोजगार, दोस्रो पुस्ताको सहभागिता, बौद्धिक लगानी र संस्थागत सुदृढीकरणसम्मका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
लगानी र आर्थिक पहल
एनआरएनएले नेपाल सरकारसँग सहकार्यमा स्थापना भएको १० अर्ब रुपैयाँ पूँजीको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ तत्काल सञ्चालनमा ल्याउन पहल गर्ने निर्णय गरेको छ। यसका लागि विश्वका विभिन्न क्षेत्र—अमेरिकाज, एसिया, ओसेनिया, मध्यपूर्व, अफ्रिका र युरोपमा रोड शो आयोजना गरिनेछ।
गैरआवासीय नेपालीका अधिकार
बैठकले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन, सम्पत्ति सुरक्षा, विदेशबाट मतदान अधिकार सुनिश्चित गर्ने तथा संविधान संशोधनमार्फत वंशज नागरिकताको निरन्तरता कायम गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ। साथै, थाइल्याण्ड, म्यानमार, फिजी लगायतका देशमा रहेका नेपाली मूलका नागरिकलाई नेपालसँग वैधानिक रूपमा जोड्ने पहल गरिनेछ।
वैदेशिक रोजगार र राहत कोष
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा, राहत, स्वास्थ्य र पुनर्स्थापनाका लागि ‘NRNA Foreign Employment Relief Fund’ लाई १० करोड रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ। बैठकमै पदाधिकारी तथा सदस्यहरूको स्वेच्छिक योगदानबाट १ करोड रुपैयाँ संकलन भएको जानकारी दिइएको छ।
दोस्रो पुस्ता र महिला सशक्तिकरण
एनआरएनएले विश्वभरका महिलालाई समेट्दै ‘विश्व महिला सम्मेलन’ आयोजना गर्ने तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्न इन्टर्नशिप, शैक्षिक भ्रमण र ‘Youth Volunteer for Nepal’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। काठमाडौंमा दोस्रो पुस्ताको सम्मेलन समेत गरिनेछ।
बौद्धिक लगानी र ज्ञान अर्थतन्त्र
विश्वभर रहेका नेपाली विज्ञहरूलाई समेट्दै ‘Professional and Academic Council (PAC)’ गठन गरिनेछ भने नेपालमा ज्ञानमा आधारित अर्थतन्त्र विकासका लागि ‘4th NRN Global Knowledge Convention’ आयोजना गरिनेछ।
परोपकारी कार्यक्रम
‘मोबाइल ब्लड बस’ परियोजनालाई देशभर विस्तार गर्ने तथा सडक बालबालिका सहयोग कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको छ।
संस्थागत सुधार र पारदर्शिता
एनआरएनए नेतृत्व चयन प्रक्रियालाई अनलाइन मतदानमार्फत पारदर्शी बनाउने, ‘अन्तर्राष्ट्रिय सम्बन्ध विभाग’ गठन गर्ने तथा United Nations Economic and Social Council मा सदस्यता लिन आवेदन दिने निर्णय गरिएको छ। साथै, प्रत्येक तीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक गरिनेछ।
त्यस्तै, पदाधिकारीहरूले राजनीतिक पद त्याग्ने तथा सामाजिक सञ्जालमा गैरराजनीतिक व्यवहार अपनाउने प्रतिबद्धता समेत जनाएका छन्।
निष्कर्ष
एनआरएनएको १२औँ विश्व सम्मेलन सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार तथा सरोकारवाला निकायप्रति धन्यवाद व्यक्त गर्दै संघले आगामी दिनमा एकता, पारदर्शिता र सक्रियतासहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
प्रवक्ता सोमनाथ सापकोटाका अनुसार, ‘फ्युचर रोडम्याप’ कार्यान्वयनमार्फत एनआरएनएलाई अझ प्रभावकारी, उत्तरदायी र परिणाममुखी संस्थाका रूपमा विकास गरिने लक्ष्य राखिएको छ।