भिमसेन थापाले एनआरएनए आईसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

theoutsidenepal.com

पोर्चुगल, फागुन २३ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान आईसीसी युवा संयोजक भिमसेन थापा ले आगामी एकता अधिवेशनका लागि आईसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।


युरोप (पोर्चुगल)बाट सक्रिय नेतृत्व गर्दै आएका थापाले आफ्नो उम्मेदवारीमा संगठनात्मक रूपान्तरण, प्रत्यक्ष निर्वाचन, युवाको सार्थक सहभागिता र संस्थागत एकतालाई मुख्य एजेन्डा बनाएका छन्।


पोर्चुगल निवासी थापा व्यवसायी तथा समाजसेवीका रूपमा परिचित छन्। हस्पिटालिटी, कृषि र निर्माण क्षेत्रमा युरोप र नेपालमा उल्लेख्य लगानी गरेका उनले एनआरएनए एनसीसी पोर्चुगलको कार्यसमिति सदस्य, उपाध्यक्ष, आईसीसी सदस्य र हाल आईसीसी युवा संयोजकको जिम्मेवारी सम्हालिरहेका छन्। विभिन्न तहमा अनुभवले उनलाई नीतिगत र कार्यान्वयन दुवै पक्षमा दक्ष नेतृत्वका रूपमा स्थापित गरेको छ।


थापाले संस्थाभित्र देखिएको मतभेद अन्त्य गर्दै एनआरएनएलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने,

“देश र नेपालीका लागि स्थापना भएको संस्था आफैंभित्र जुधेर बस्नु हुँदैन।”


उनले आईसीसी पदाधिकारीको प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने, पारदर्शिता, सहभागिता र जवाफदेहितालाई प्राथमिकता दिने, र युवाहरूलाई नीतिनिर्माण तथा नेतृत्वमा सक्रिय सहभागिता सुनिश्चित गर्ने योजना प्रस्तुत गरेका छन्। युरोपमा छरिएका युवा पेशागत समुदाय, विद्यार्थी र उद्यमीहरूलाई एउटै सञ्जालमा जोडेर सीप, स्रोत र अनुभवको समन्वय गर्ने उनको उद्देश्य रहेको छ।


थापाले आफ्नो अभियान पदका लागि नभई सेवाका लागि रहेको स्पष्ट पारेका छन्। भूकम्प र कोभिड–१९ महामारीका बेला उनले देशमा राहत तथा सहयोग कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए।


आगामी निर्वाचनले एनआरएनएको भावी दिशा तय गर्ने भएकाले, थापाको उम्मेदवारीलाई युरोपका लाखौं नेपालीको आवाज अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ।


भिमसेन थापा आफ्नो भाषणभन्दा काम, पदभन्दा सेवा र प्रचारभन्दा परिणामलाई प्राथमिकता दिने कार्यशैलीका कारण आईसीसी युवा उपाध्यक्ष पदका लागि सक्षम र प्रभावकारी उम्मेदवारका रूपमा उभिएका छन्। उनले समस्त गैरआवासीय नेपाली तथा अभियन्ताहरूसँग साथ, समर्थन र सुझावको अपेक्षा राख्दै आफूलाई काम गर्ने अवसर दिन आग्रह गरेका छन्।


प्रतिक्रिया