रसुवाका बाढीपीडितका लागि एनआरएनएको ५ करोड सहयोग घोषणा, उद्धारदेखि पुनःस्थापनासम्म विशेष अभियान
काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा दीर्घकालीन पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढीले रसुवासहित भोटेकोसी, त्रिशूली तथा नारायणी नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि एनआरएनएले आकस्मिक बैठकमार्फत प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सहयोगलाई उच्च प्राथमिकतामा राख्दै विशेष राहत अभियान अघि बढाउने निर्णय गरेको हो।
एनआरएनएले तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा, औषधि, स्वास्थ्य सामग्रीलगायत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउने तथा उद्धारपछि पुनःस्थापनाका कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ।
राहत तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन एनआरएनए केन्द्रीय अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय राहत समिति गठन गरिएको छ। समितिले नेपाल सरकार, स्थानीय प्रशासन, प्रभावित क्षेत्रका निकाय तथा विश्वभर रहेका एनआरएनएका राष्ट्रिय समितिसँग समन्वय गरी वास्तविक आवश्यकता पहिचान गरेर राहत परिचालन गर्नेछ।
एनआरएनएका उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक मनोजकुमार श्रेष्ठ (गोर्खाली) ले प्रभावित क्षेत्रमा रहेका फोकल पर्सन तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिँदै राहतलाई व्यवस्थित, पारदर्शी र आवश्यकतामा आधारित बनाइने बताए।
उनले राहत सामग्री मात्रै पठाउनेभन्दा पनि कुन क्षेत्रमा के आवश्यक छ, कति परिवार प्रभावित छन् र कुन माध्यमबाट तत्काल सहयोग पुर्याउन सकिन्छ भन्ने तथ्यमा आधारित कार्ययोजना बनाएर अभियान सञ्चालन गरिने बताए।
यसैगरी एनआरएनएका उपाध्यक्ष तथा विपद् व्यवस्थापन उप–प्रमुख प्रविन गुरुङले रसुवाको अवस्थालाई अत्यन्तै गम्भीर मान्दै तत्काल उद्धार र मानवीय सहयोगसँगै प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापनालाई पनि अभियानको केन्द्रमा राख्नुपर्ने बताए।
गुरुङले बाढीपछि विस्थापित भएका परिवारलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको उपलब्धता, स्वास्थ्य परीक्षण र औषधि उपचारमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। उनले एनआरएनएका राष्ट्रिय समितिहरू तथा विदेशमा रहेका नेपालीलाई एकीकृत गर्दै आवश्यकताअनुसार सहयोग परिचालन गरिने बताए।
उनका अनुसार विपद्को समयमा सहयोग रकम घोषणा गर्नु मात्रै पर्याप्त नभई वास्तविक पीडितसम्म समयमै र प्रभावकारी रूपमा राहत पुग्नु सबैभन्दा महत्वपूर्ण विषय हो। त्यसैले एनआरएनएले स्थानीय तह, प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर प्राथमिकताका आधारमा राहत परिचालन गर्ने तयारी गरेको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै एनआरएनएले स्वास्थ्य सेवालाई समेत विशेष प्राथमिकता दिएको छ। एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले प्रभावित क्षेत्रमा तत्काल चिकित्सकीय सेवा पुर्याउन विशेष चिकित्सक टोली परिचालनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
चिकित्सक टोलीले प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउनेछ।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले उद्धारसँगै प्रभावित नागरिकको दीर्घकालीन राहत र पुनःस्थापनाका लागि संघ पूर्ण रूपमा सक्रिय हुने बताएका छन्। उनले विपद्को यस कठिन घडीमा विश्वभर रहेका नेपालीबीचको एकता, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गर्दै एनआरएनए मानवीय सहयोगमा निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच एनआरएनए यूएईका अध्यक्ष भीम मल्लले तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। यूके, क्यानडा, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, जापान, सेसेल्स, साउदी अरेबिया, चीनलगायत विभिन्न राष्ट्रिय समितिहरूले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल सरकारसँग प्रत्यक्ष समन्वयका लागि एनआरएनएका पूर्व कार्यकारी अधिकृत रविकिरण अधिकारीलाई फोकल पर्सन तोकिएको छ। उनले प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै प्रभावित क्षेत्रको आवश्यकता, राहतको प्राथमिकता र एनआरएनएबाट उपलब्ध हुने सहयोगबीच तालमेल कायम गर्नेछन्।
एनआरएनएले घटनास्थलको अवस्था अवलोकन गरी राहत वितरणमा प्रत्यक्ष सहभागी हुन आफ्ना पदाधिकारीसहितको टोली प्रभावित क्षेत्रमा पठाउने तयारीसमेत गरेको छ। टोलीमा अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष तथा राहत संयोजक मनोजकुमार श्रेष्ठ (गोर्खाली), उपाध्यक्ष तथा विपद् व्यवस्थापन उप–प्रमुख प्रविन गुरुङ, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक डा. बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान, उपाध्यक्ष लोकप्रसाद दाहाल, युवा उपाध्यक्ष भीमसेन थापा, महासचिव डा. चिरञ्जीवी खड्कालगायतका पदाधिकारी सहभागी हुनेछन्।
बैठकमा एनआरएनएका प्रमुख संरक्षक डा. बद्री केसीले विगतका प्राकृतिक विपत्तिमा संघले गरेको राहत तथा पुनःस्थापनाको अनुभवलाई उपयोग गर्दै रसुवाका बाढीपीडितको उद्धार र राहतमा प्रभावकारी रूपमा परिचालन हुनुपर्ने सुझाव दिए।
एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काले विश्वभर छरिएर रहेका नेपाली एकजुट भएर रसुवाका बाढीपीडित नागरिकको जीवनरक्षा, राहत र पुनःस्थापनामा साथ दिने स्पष्ट सन्देश रहेको बताए।
एनआरएनएका पदाधिकारीका अनुसार यो सहयोग तत्कालीन राहतमा मात्र सीमित नरही उद्धार, स्वास्थ्य उपचार, विस्थापितको व्यवस्थापन, पुनःस्थापना र आवश्यकताअनुसार दीर्घकालीन सहयोगसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।
बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवा क्षेत्रमा ठूलो क्षति पुगेको छ भने भोटेकोसी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीमा समेत बाढीको प्रभाव देखिएको छ। विपद्को यो कठिन समयमा एनआरएनएको ५ करोड रुपैयाँ सहयोग घोषणाले उद्धार तथा राहत अभियानमा थप बल पुग्ने अपेक्षा गरिएको छ।
#RasuwaFlood #BhotekoshiFlood #NRNA #NRNAForNepal #ReliefAndRescue #FloodRescue #NepalFlood #NepalDisaster #HumanitarianSupport #Rasuwa