शक्ति र सम्पत्तिको छायाँमा ‘इन्फिनिटी साम्राज्य’ – व्यवसायी दीपक भट्ट पक्राउ, अर्बौंको रहस्य खुल्ने संकेत

theoutsidenepal.com

द टन न्युज ,काठमाडौं – अन्ततः लामो समयदेखि सत्ता, शक्ति र सम्पत्तिको त्रिकोणमा चर्चित नाम बनेका व्यवसायी दीपक भट्ट कानूनको कठघरामा आइपुगेका छन्। बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेसँगै नेपालका उच्च तहसम्म फैलिएको आर्थिक सञ्जालबारे गम्भीर प्रश्नहरू उठ्न थालेका छन्।


२२ माघ २०३७ मा डडेल्धुराको अजयमेरु गाउँपालिका–३ मटेलामा जन्मिएका भट्ट सामान्य पृष्ठभूमिबाट उठेर शक्ति केन्द्रसम्म पुग्ने पात्रका रूपमा चिनिन्छन्। तर, पछिल्लो डेढ दशकदेखि उनी ‘सत्ताको प्रिय पात्र’ बनेर अर्बौंका ठेक्का कब्जा गर्ने, कर हेरफेर गर्ने र शंकास्पद आर्थिक कारोबारमा संलग्न रहेको आरोपले घेरिएका थिए।


भट्टमाथि जलविद्युत्, बीमा, लघुवित्तदेखि ट्राभल एजेन्सी र शैक्षिक संस्थासम्म आफ्नो प्रभाव विस्तार गर्दै लाइसेन्स र सेयर खरिदमा चलखेल गरेको गम्भीर आरोप छ। अझ चकित पार्ने कुरा त के छ भने, सुरक्षा निकायका लागि हातहतियार खरिदमा समेत आफूअनुकूल मापदण्ड बनाउने, प्रक्रिया नै रोकेर ठेक्का कब्जा गर्ने जस्ता गतिविधिमा उनी संलग्न रहेको विवरण सार्वजनिक हुँदै आएको थियो।


औपचारिक रूपमा Infinity Holdings का प्रमुख रहेका भट्टले विभिन्न कर्मचारीका नाममा कम्पनी खोल्दै पर्दा पछाडिबाट अर्बौंको कारोबार सञ्चालन गरेको आरोप छ। २०७९ सालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि करिब डेढ अर्ब रुपैयाँ बराबरको हतियार खरिद ठेक्का पनि उनैमार्फत अघि बढाइएको विषयले देशभर चर्चा पाएको थियो।


त्यसअघि अर्थ मन्त्रालय मा मध्यरातमा करको दर हेरफेर गरिएको बहुचर्चित प्रकरणमा पनि भट्टको छायाँ देखिएको थियो। उक्त घटनाले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा लाई पदबाट राजीनामा दिन बाध्य बनाएको थियो—जसले भट्टको पहुँच कति गहिरो थियो भन्ने संकेत दिन्छ।


अझ गम्भीर आरोप त के छ भने, नेपालमा गैरकानुनी माध्यमबाट आर्जित धन सिंगापुर, हङकङ र दुबईजस्ता अन्तर्राष्ट्रिय वित्तीय केन्द्रमा लगानी गरिएको आशंका छ। यदि यो प्रमाणित भयो भने, यो प्रकरण नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण घोटालामध्ये एक बन्न सक्ने विश्लेषण भइरहेको छ।


प्रतिक्रिया