ट्राफिक प्रहरीको आधुनिक यात्रालाई झल्काउँदै ‘Traffic Police Mirror 2026’ लोकार्पण

theoutsidenepal.com

ट्राफिक प्रहरीको आधुनिक यात्रालाई झल्काउँदै ‘Traffic Police Mirror 2026’ लोकार्पण

काठमाडौं, असार १ । ट्राफिक व्यवस्थापन, प्रविधिमैत्री सेवा र संस्थागत उपलब्धिहरूलाई समेटिएको ‘Traffic Police Mirror 2026’ आज एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।

नेपाल प्रहरीका संगठन प्रमुख दानबहादुर कार्की ले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथद्वारा आयोजित “Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी २०८३” को अवसरमा उक्त प्रकाशनको औपचारिक लोकार्पण गर्नुभएको हो।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले Traffic Police Mirror 2026 को निर्माण तथा प्रकाशनमा महत्वपूर्ण योगदान पुर्‍याउने ट्राफिक प्रहरी कर्मचारी, विभिन्न संस्था तथा व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गर्नुभयो। कार्यक्रममा ईश्वर कार्की ले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी ले प्रकाशनको उद्देश्य, आवश्यकता तथा महत्वबारे प्रकाश पार्नुभएको थियो।

त्यसैगरी, राजेन्द्र प्रसाद त्रिपाठी र सुनिल पौडेल ले ट्राफिक व्यवस्थापनमा प्रविधिको बढ्दो भूमिका, चुनौती र सम्भावनाबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

प्रकाशनले ट्राफिक प्रहरीको विगतका अनुभव, संघर्ष, सुधार अभियान तथा उपलब्धिहरूलाई समेट्दै आगामी दिनमा प्रविधिमैत्री, स्मार्ट र आधुनिक ट्राफिक व्यवस्थापनतर्फको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको आयोजकले जनाएको छ। कार्यक्रममा Traffic Police Mirror 2026 सम्बन्धी विशेष वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो।

ट्राफिक प्रहरीको संस्थागत विकास, डिजिटल रूपान्तरण र नागरिकमैत्री सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने यो प्रकाशन आगामी दिनमा ट्राफिक व्यवस्थापन क्षेत्रका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया