काठमाडौं — क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक केमोथेरापी औषधी सिस प्लाटिन र कार्बोप्लाटिन को पछिल्लो अभावलाई न्युनिकरण गर्न नेपालका औषधी आयातकर्ताहरू तत्कालका लागि सफल भएका छन्। केही दिनयता देशभरका अस्पतालमा यी औषधीको अभाव देखिएपछि बिरामी तथा उनका परिवार चिन्तित बनेका थिए।
तीन दिनअघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधी व्यवस्था विभागका अधिकारी तथा नेपाल औषधी आयातकर्ता संघका प्रतिनिधिहरूसँग छलफल गर्दै अभाव भएका औषधी सहज रूपमा उपलब्ध गराउन समन्वयात्मक पहल गर्न आग्रह गरेको थियो। त्यसपछि आयातकर्ताहरूले विभागसँग सहकार्य गर्दै तत्काल औषधी आयात प्रक्रिया अघि बढाएका हुन्।
नेपाल औषधी आयातकर्ता संघका अध्यक्ष पवन आचार्य ले मौज्दात औषधीको समुचित वितरण गरिएको र थप औषधी बंगलादेशबाट आउन थालेको जानकारी दिए। उनका अनुसार विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण पेट्रोकेमिकलमा आधारित औषधी उत्पादन प्रभावित हुँदा आपूर्ति संकट देखिएको हो।
उनले भने,
“विश्व बजारमै यी औषधीको अभाव छ। उत्पादक कम्पनीहरूले मूल्य बढाइरहेका छन् तर नेपालमा मूल्य समायोजन हुन नसक्दा आयात प्रभावित भएको थियो। अहिले हामीले विशेष आग्रह गरेर तत्कालको संकट टार्ने गरी औषधी उपलब्ध गराउन थालेका छौँ।”
अध्यक्ष आचार्यका अनुसार Aayan Life Care ले बंगलादेशबाट ८०० भाइल कार्बोप्लाटिन ल्याइसकेको छ भने सिस प्लाटिनको थप व्यवस्था भइरहेको छ। अन्य आयातकर्ताहरूले पनि यी औषधी आयातलाई प्राथमिकता दिन थालेका छन्।
उनले थपे,
“१५० एमजीको ३५० भाइल र ४५० एमजीको ४५० भाइल कार्बोप्लाटिन आइसकेको छ। सिस प्लाटिन पनि उपलब्ध भइसकेको अवस्था छ। बजारमा केही मौज्दात पनि भएकाले तत्कालको समस्या टर्छ। तर दीर्घकालीन समाधानका लागि सरकारले स्वचालित मूल्य प्रणाली लागू गर्न आवश्यक छ।”
कमाल उज्मा ले अभाव देखिएपछि कम्पनीले फास्ट ट्र्याकमार्फत बंगलादेशबाट औषधी आयात गरेको बताए।
उनका अनुसार,
“प्रतिभाइल ६५० देखि १००० रुपैयाँसम्म घाटा भए पनि नागरिकको ज्यान बचाउनका लागि हामीले घाटा सहेरै औषधी ल्याएका छौँ।”
नेपाल औषधी आयातकर्ता संघको समन्वयमा विभिन्न अस्पतालबाट आएका ५० भन्दा बढी बिरामीका आफन्तलाई प्रेस्क्रिप्सनको आधारमा औषधी वितरण गरिएको जनाइएको छ। लाभान्वित अस्पतालहरूमा Patan Hospital, Civil Service Hospital, Bhaktapur Cancer Hospital, Tribhuvan University Teaching Hospital तथा Nepali Army अन्तर्गतका अस्पतालहरू रहेका छन्।
यस संकट व्यवस्थापनमा स्वास्थ्य सचिव डा विकास देवकोटा, औषधी व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गी तथा किरण सुन्दर बज्राचार्य लगायतको भूमिका समन्वयकारी र सहयोगी रहेको अध्यक्ष आचार्यले बताएका छन्।