राष्ट्रिय हितका विषयमा जिम्मेवार अभिव्यक्तिको आवश्यकता : एएनए अध्यक्ष अधिकारी
काठमाडौं, असार १ – अमेरिकामा रहेका नेपालीहरूको साझा संस्था Association of Nepalis in the Americas (ANA) का अध्यक्ष Khagendra Adhikari ले राष्ट्रिय सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा उच्च जिम्मेवारी, परिपक्वता र दूरदृष्टि आवश्यक रहेको बताएका छन्।
सोमबार जारी वक्तव्यमा अध्यक्ष अधिकारीले राजनीति तथा राज्य सञ्चालनको क्षेत्रमा वाणीको मर्यादा र शब्दको विवेकपूर्ण प्रयोग अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै सार्वजनिक अभिव्यक्ति सदैव संयम, शिष्टता, पारस्परिक सम्मान तथा उत्तरदायित्वका मान्यताबाट निर्देशित हुनुपर्ने बताएका छन्।
उनले राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाभिमानसँग सम्बन्धित विषयहरू कुनै पनि देशका लागि सर्वोच्च राष्ट्रिय महत्वका विषय भएको उल्लेख गर्दै यस्ता विषयमा गरिने टिप्पणी वा धारणा तथ्यपरक, जिम्मेवार तथा राष्ट्रिय हितप्रति संवेदनशील हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
अध्यक्ष अधिकारीले राष्ट्रिय नेतृत्व तहबाट व्यक्त हुने विचारहरूले जनविश्वास, राष्ट्रिय मनोबल तथा अन्तर्राष्ट्रिय समुदायमा राष्ट्रको छविमा दीर्घकालीन प्रभाव पार्न सक्ने भएकाले स्पष्टता, जवाफदेहिता र राष्ट्रिय हितप्रतिको अटल प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
वक्तव्यमा राष्ट्रिय सीमासम्बन्धी प्रश्न कुनै एक राजनीतिक दल, सरकार वा व्यक्तिसँग मात्र सम्बन्धित नभई सम्पूर्ण नेपाली जनताको साझा चासो, ऐतिहासिक विरासत, राष्ट्रिय पहिचान तथा गौरवसँग जोडिएको विषय भएको उल्लेख गरिएको छ। यस्ता संवेदनशील विषयमा राष्ट्रिय एकता, आपसी विश्वास, संस्थागत विश्वसनीयता तथा राष्ट्रको दीर्घकालीन हितलाई सर्वोपरि राख्नुपर्नेमा उनले जोड दिएका छन्।
अध्यक्ष अधिकारीले राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य–मान्यता, जिम्मेवार सार्वजनिक संवाद तथा राष्ट्रिय एकताप्रतिको आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दै राष्ट्रको सार्वभौमसत्ता, स्वाभिमान तथा भौगोलिक अखण्डताको संरक्षण र संवर्द्धनमा सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।