एनआरएनए आईसीसीमा दोस्रो पुस्ता संयोजकमा दीपमाला नियुक्त, युवालाई जोड्ने प्रतिबद्धता

theoutsidenepal.com

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) मा दोस्रो पुस्ता (Second-Generation) संयोजकको जिम्मेवारीमा दीपमाला नियुक्त हुनुभएको छ। उहाँले आफ्नो नियुक्तिप्रति गौरव व्यक्त गर्दै विश्वभर रहेका नेपाली युवालाई एकताबद्ध, सशक्त र संस्कृतिसँग जोड्ने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।


नवनियुक्त संयोजक दीपमालाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपाली पहिचान, संस्कृति र मूल्य–मान्यतासँग दोस्रो पुस्तालाई नजिक राख्दै अन्तर्राष्ट्रिय स्तरमा बलियो नेटवर्क निर्माण गर्ने लक्ष्य रहेको बताउनुभएको छ।


उहाँले अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा रहेर संस्थाको उद्देश्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ। “एकता, सशक्तीकरण र संस्कृतिसँगको सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा मेरो पूर्ण समर्पण रहनेछ,” उहाँले उल्लेख गर्नुभएको छ।


एनआरएनएमा दोस्रो पुस्ताको सहभागिता बढ्दै गएको सन्दर्भमा दीपमालाको नियुक्तिलाई विशेष महत्वका साथ हेरिएको छ। यसले विश्वभर छरिएका नेपाली युवाबीच सम्बन्ध विस्तार र सहकार्यमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया