डा.मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा डा.मनोजकुमार शर्मा लाई सिफारिस गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाह को अध्यक्षतामा बसेको परिषद्को बैठकले शर्मालाई नेपालको ३३ औं प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
परिषद्को सिफारिसपछि अब संसदीय सुनुवाइ समितिले उहाँमाथि सुनुवाइ गर्नेछ। समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा प्रधानन्यायाधीश पदमा नियुक्त गरिने संवैधानिक व्यवस्था रहेको छ। सुनुवाइ प्रक्रिया पूरा हुन केही समय लाग्ने बताइएको छ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अवकाश भएपछि सर्वोच्च अदालत कायममुकायमको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल ले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी थिइन्।
प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले यसअघि योग्य ठहरिएका सर्वोच्च अदालतका ६ जना स्थायी न्यायाधीशहरूको नामावली संवैधानिक परिषद्लाई पठाएको थियो। परिषद्ले सोही रोष्टरबाट मनोजकुमार शर्माको नाम चयन गरेको हो।
न्याय परिषद्ले २६ फागुनमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका सम्भावित उम्मेदवारका रूपमा पठाएको थियो।