वनको अवरोध हटे यसै वर्ष अत्तरियामा प्रदेश राजधानी निर्माण प्रक्रिया अघि बढ्छ : मन्त्री भाट
कैलाली । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माणको बहुप्रतीक्षित प्रक्रिया अब निर्णायक चरणमा प्रवेश गर्ने संकेत देखिएको छ। प्रदेशको राजधानी कैलालीको अत्तरियामा निर्माण गर्ने योजनालाई गति दिन वनसम्बन्धी अवरोध समाधान गर्न सके यसै आर्थिक वर्षबाटै राजधानी निर्माणको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओम विक्रम भाट ‘सरल’ले बताएका छन्।
मन्त्री भाटले राजधानी निर्माण केवल एउटा भवन वा प्रशासनिक केन्द्र निर्माण गर्ने विषय नभई सुदूरपश्चिमको दीर्घकालीन विकास, सुशासन र समृद्धिको आधार तयार गर्ने ऐतिहासिक परियोजना भएको बताएका छन्।
उनका अनुसार राजधानी निर्माणका लागि आवश्यक पूर्वाधार, जग्गा व्यवस्थापन तथा वनसम्बन्धी प्रक्रियामा देखिएका अवरोध समाधान गर्न प्रदेश सरकार गम्भीरतापूर्वक अघि बढिरहेको छ। वनसम्बन्धी कानुनी तथा प्रशासनिक प्रक्रिया सहज बन्न सके अत्तरियामा राजधानी निर्माणको कामलाई यसै वर्षबाट गति दिने तयारी रहेको उनको भनाइ छ।
मन्त्री भाटको सक्रियता र स्पष्ट दृष्टिकोणले लामो समयदेखि चर्चामा मात्र सीमित रहेको प्रदेश राजधानी निर्माणको विषयलाई कार्यान्वयनको बाटोतर्फ लैजाने नयाँ आशा जगाएको देखिन्छ।
अत्तरिया सुदूरपश्चिमको प्रमुख व्यापारिक तथा यातायात केन्द्रका रूपमा विकसित हुँदै गएको क्षेत्र हो। यहाँ प्रदेश राजधानी निर्माण हुन सके प्रशासनिक गतिविधि मात्र होइन, आर्थिक गतिविधि, रोजगारी, व्यापार, यातायात, आवास तथा पूर्वाधार विकासमा समेत व्यापक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
मन्त्री भाटले राजधानी निर्माणमा देखिएका अवरोधलाई बहाना बनाएर आयोजना अनिश्चितकालसम्म रोकिराख्ने पक्षमा आफू नरहेको संकेत गर्दै समस्या पहिचान गरेर समाधानमुखी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
सुदूरपश्चिमका जनताको लामो समयदेखिको अपेक्षा र प्रदेशको भविष्यसँग जोडिएको राजधानी निर्माणको विषयमा मन्त्री भाटको पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अत्तरियामा प्रदेश राजधानी निर्माणको प्रक्रिया यसै वर्षबाट अघि बढाउन सकिए सुदूरपश्चिमको विकास यात्रामा यो एउटा महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ बन्न सक्नेछ।