जनसवाल राष्ट्रिय दैनिकले पूरा गर्यो गौरवपूर्ण दुई दशक, जनताको पक्षमा अझ निर्भीक पत्रकारिताको संकल्प
काठमाडौं । जनसवाल राष्ट्रिय दैनिकले आफ्नो प्रकाशन यात्राको गौरवपूर्ण दुई दशक पूरा गरेको छ। भदौ ५ गते दुई दशक पूरा गरेको अवसरमा पत्रिकाले आफ्नो यात्रालाई संघर्ष, साधना, निरन्तरता, पाठकको विश्वास र पत्रकारिताप्रतिको अटल प्रतिबद्धताको उपलब्धिका रूपमा स्मरण गरेको छ।
दुई दशकअघि सीमित साधन र स्रोतका बीच सुरु भएको जनसवालको यात्रा आज हजारौँ–लाखौँ पाठकको विश्वाससँग जोडिएको जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेले बताउनुभएको छ। अनेकौँ चुनौती र अनिश्चितताबीच सुरु भएको प्रकाशनले समयका विभिन्न परीक्षा पार गर्दै संस्थागत पहिचान बनाउन सफल भएको उहाँको भनाइ छ।
बगालेले जनसवालको दुई दशकको यात्रा कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई पाठक, पत्रकार तथा सञ्चारकर्मी, लेखक–स्तम्भकार, कर्मचारी, विज्ञापनदाता, व्यवसायी–उद्योगी, गैरआवासीय नेपाली तथा सम्पूर्ण शुभेच्छुकको साझा यात्रा भएको उल्लेख गर्नुभएको छ।
दुई दशकको अवधिमा नेपालले राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण परिवर्तन भोगेको स्मरण गर्दै जनसवालले ती परिवर्तनलाई समाचार र जनसरोकारका विषयमार्फत निरन्तर उठाउँदै आएको जनाएको छ। राजनीतिक संक्रमणदेखि संविधान निर्माण, व्यवस्था परिवर्तनदेखि सामाजिक रूपान्तरण, आर्थिक संकटदेखि समृद्धिको आकांक्षा तथा प्राकृतिक विपत्तिदेखि प्रविधिको तीव्र विस्तारसम्मका घटनाक्रममा जनसवालले नागरिकका आवाजलाई प्राथमिकता दिएको बगालेको भनाइ छ।
‘जनसवाल’ले जनताको आवाज सम्बन्धित निकायसम्म पुर्याउने, आवाजविहीनहरूको आवाज बन्ने, गलत प्रवृत्तिमाथि प्रश्न उठाउने तथा जनसरोकारका विषयलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउने आफ्नो पत्रकारिताको मूल उद्देश्यलाई निरन्तरता दिएको जनाएको छ।
प्रवासमा रहेका नेपालीको आवाज बन्ने प्रतिबद्धता
विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको समस्या, संघर्ष, उपलब्धि, अधिकार, श्रम, सामाजिक सुरक्षा, व्यवसाय, लगानी, सीप तथा मातृभूमिप्रतिको योगदानलाई राष्ट्रिय बहससँग जोड्ने विषयलाई जनसवालले आगामी दिनमा अझ प्राथमिकता दिने भएको छ।
प्रवासमा रहेका नेपालीको श्रम, सीप, ज्ञान, लगानी र उद्यम नेपालको भविष्यसँग जोडिएको उल्लेख गर्दै बगालेले नेपाल र विश्वभर छरिएका नेपालीबीच सञ्चारको विश्वसनीय सेतु बन्ने दिशामा जनसवाल अघि बढिरहेको बताउनुभएको छ।
डिजिटल पत्रकारितासँगै नयाँ यात्राको तयारी
समय, प्रविधि र पाठकको रुचिमा आएको परिवर्तनसँगै छापा पत्रकारितासँगै डिजिटल पत्रकारितालाई पनि सशक्त बनाउने जनसवालले जनाएको छ। माध्यम र प्रविधि परिवर्तन भए पनि सत्य, तथ्य, निष्पक्षता, उत्तरदायित्व र जनहितलाई पत्रकारिताका आधारस्तम्भका रूपमा निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
आर्थिक तथा व्यावसायिक कठिनाइ, प्रविधिको तीव्र परिवर्तन, बढ्दो प्रतिस्पर्धा, विज्ञापन बजारका उतार–चढाव र बदलिँदो पाठकीय व्यवहारजस्ता चुनौतीबीच पनि पाठक तथा विज्ञापनदाताको विश्वास नै जनसवालको सबैभन्दा ठूलो शक्ति रहेको अध्यक्ष बगालेले उल्लेख गर्नुभएको छ।
खोजमूलक पत्रकारितालाई प्राथमिकता
दुई दशक पूरा हुनु यात्राको अन्त्य नभई थप जिम्मेवारीको सुरुवात भएको जनसवालले जनाएको छ। आगामी दिनमा खोजमूलक पत्रकारितालाई सशक्त बनाउँदै तथ्यमा आधारित समाचार र विश्लेषणलाई प्राथमिकता दिने, आवाजविहीनहरूको आवाज बन्ने तथा विश्वभर छरिएका नेपालीका समस्या, सम्भावना र उपलब्धिलाई नेपालको राष्ट्रिय विमर्शसँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
लोकतन्त्र, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि, राष्ट्रिय एकता र राष्ट्रिय हितका सवालमा पत्रकारितालाई अझ निर्भीक, जिम्मेवार र प्रभावकारी बनाउने संकल्प पनि गरिएको छ।
सत्ता र शक्तिको प्रशंसा गर्नु पत्रकारिताको धर्म नभएको उल्लेख गर्दै जनसवालले आवश्यक पर्दा प्रश्न उठाउने, खबरदारी गर्ने र जनताको पक्षमा सत्य बोल्ने आफ्नो मूल दायित्वबाट विचलित नहुने जनाएको छ।
दुई दशकको यात्रामा साथ, सहयोग, विश्वास र सद्भाव प्रदान गर्ने सम्पूर्ण पाठक, विज्ञापनदाता, पत्रकार, सञ्चारकर्मी, लेखक, स्तम्भकार, कर्मचारी, व्यवसायी, उद्योगी, गैरआवासीय नेपाली, शुभेच्छुक तथा सरोकारवालाप्रति अध्यक्ष/सम्पादक बगालेले हार्दिक आभार व्यक्त गर्नुभएको छ।
“तपाईंहरूले दिनुभएको विश्वास हाम्रो सबैभन्दा ठूलो पूँजी हो। त्यसको सम्मान गर्ने हाम्रो एउटै बाटो छ–अझ राम्रो, अझ जिम्मेवार र अझ निर्भीक पत्रकारिता,” उहाँले भन्नुभएको छ।
एचबी ताम्राकारद्वारा रामजी बगाले र जनसवाल परिवारलाई बधाई
जनसवाल राष्ट्रिय दैनिकले गौरवपूर्ण दुई दशक पूरा गरेको अवसरमा टन मिडिया ग्रुपका अध्यक्ष एवं द टन न्युजका प्रधान सम्पादक एचबी ताम्राकारले जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेसहित सम्पूर्ण जनसवाल परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
ताम्राकारले दुई दशक लामो पत्रकारिताको यात्रा आफैँमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै जनसवालले नेपाली पत्रकारिताको क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको छ। सत्य, तथ्य, जनसरोकार र जनताको आवाजलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि जनसवालले अझ प्रभावकारी, निर्भीक र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै उहाँले रामजी बगालेको नेतृत्वमा जनसवालले थप उचाइ हासिल गरोस् भन्ने शुभकामना दिनुभएको छ।
द टन मिडिया परिवारको तर्फबाट जनसवाल राष्ट्रिय दैनिक, अध्यक्ष/सम्पादक रामजी बगाले, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा जनसवाल परिवारलाई दुई दशकको गौरवपूर्ण यात्राका लागि हार्दिक बधाई तथा आगामी यात्राका लागि सफलताको शुभकामना।