बागलुङ — प्रेम दिवसको अवसर पारेर बागलुङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्माले सकारात्मक सन्देश दिएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्टाटसमा उनले लेखेका छन्:“प्रेम दिवसको अवसरमा मलाई घृणा गर्नेहरूलाई पनि धेरै माया! तपाईंहरूको झुटो आरोपले मलाई थप बलियो बनाएको छ। मेरो प्रेम त यो क्षेत्रको विकास र न्यायका लागि हो, जुन कहिल्यै घट्ने छैन। घृणा होइन, प्रेम बाँडौँ। प्रेमले नै परिवर्तनको चाहमा अघि बढाउने हो।”
उनको सन्देशलाई समर्थकहरूले सकारात्मक राजनीतिक संस्कारको संकेतका रूपमा व्याख्या गरेका छन्। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा शर्माले आलोचना र आरोपलाई व्यक्तिगत रूपमा नलिई त्यसलाई ऊर्जा र प्रेरणामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विकास र न्यायको एजेन्डा
शर्माले बागलुङ–२ मा सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै अभियान चलाइरहेका छन्। “जय घन्टी” नारासहित उनी घरदैलो र जनभेटघाटमा सक्रिय छन्।
उनका अनुसार प्रेम, सहकार्य र सकारात्मक सोचबिना दीगो परिवर्तन सम्भव हुँदैन। राजनीतिक प्रतिस्पर्धालाई द्वेष र विभाजनभन्दा माथि उठाएर विकास र न्यायको साझा लक्ष्यतर्फ केन्द्रित गर्नुपर्ने उनको धारणा छ।
स्थानीय स्तरमा युवाहरू र नागरिक समाजका प्रतिनिधिहरूले शर्माको सन्देशलाई “संयमित र सभ्य राजनीतिक अभ्यास” को उदाहरणका रूपमा लिएका छन्।
प्रेम दिवसको सन्देशसँगै उनले मतदातासमक्ष स्पष्ट पारेका छन्— उनको प्रेम व्यक्तिगत स्वार्थका लागि होइन, बागलुङ–२ को समृद्धि र न्यायपूर्ण समाज निर्माणका लागि हो।