समस्यामा परेका नेपाली श्रमिकका लागि ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनएको माग

theoutsidenepal.com

समस्यामा परेका नेपाली श्रमिकका लागि ‘सेल्टर हाउस’ स्थापना गर्न एनआरएनएको माग

गोन्जाउ, चीन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका नेपालीको उद्धार तथा तत्काल बसोबासका लागि सरकारले ‘सेल्टर हाउस’ स्थापना गर्नुपर्ने माग गरेको छ।

चीनको गोन्जाउमा जारी एनआरएनए एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनअन्तर्गत ‘सुरक्षित वैदेशिक रोजगार र पुनः एकीकरण’ विषयक सत्रमा सहभागीहरूले समस्यामा परेका श्रमिकलाई सुरक्षित रूपमा राख्ने व्यवस्था नहुँदा उद्धार तथा सहयोगमा कठिनाइ हुने गरेको बताएका हुन्।

एनआरएनए उपाध्यक्ष तथा कार्यक्रमका सभापति खगेन्द्र न्यौपानेले नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा सरकारले नै सेल्टर हाउस स्थापना गर्नुपर्ने बताए। श्रमिक समस्यामा पर्दा तत्काल सुरक्षित स्थानमा राख्ने व्यवस्था नहुँदा एनआरएनए प्रतिनिधिहरूले आफ्नै पहलमा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताए।

कतिपय अवस्थामा समस्यामा परेका श्रमिकलाई राख्ने क्रममा एनआरएनए प्रतिनिधिहरू स्वयं कानुनी समस्यामा पर्ने तथा जेल जानुपर्ने अवस्थासमेत आउने गरेको न्यौपानेले उल्लेख गरे। आफूहरूले वर्षौँदेखि सेल्टर हाउस स्थापनाको माग गर्दै आए पनि सरकारले सुनुवाइ नगरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

न्यौपानेले वैदेशिक रोजगारीमा जाने नेपालीलाई सीप सिकाएर मात्र पठाउने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए। सरकार र एनआरएनएको सहकार्यमा ‘स्किल एकेडेमी’ तथा सीप परीक्षण केन्द्र स्थापना गर्नुपर्ने उनको भनाइ थियो।

त्यसैगरी, विदेशमा समस्यामा परेका नेपालीलाई तत्काल सहयोग गर्दै आएका एनआरएनए प्रतिनिधिलाई ‘अवैतनिक श्रमिक दूत’का रूपमा कानुनी मान्यता दिन उनले सरकारसँग आग्रह गरे।

‘एनआरएनएले राजदूतसरह काम गरिरहेको छ’

प्रतिनिधिसभा सदस्य तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले विदेशमा रहेका एनआरएनहरूले नेपालीका समस्या समाधानका लागि राजदूतसरह काम गरिरहेको बताए।

अवैतनिक दूतको पद सानो देखिए पनि नेपाली श्रमिकका समस्या समाधानमा यसको महत्वपूर्ण भूमिका हुन सक्ने भन्दै उनले आवश्यक विषयमा सरकारसमक्ष पहल गर्ने प्रतिबद्धता जनाए।

परराष्ट्र मन्त्रालयको डायस्पोरा समन्वय महाशाखाका उपप्रमुख कृशु क्षेत्रीले पनि विदेशमा नेपाली दूतावास तथा नियोगपछि नेपालीले एनआरएनएलाई सम्झने गरेको बताए। सरकारले औपचारिक मान्यता नदिए पनि एनआरएनए प्रतिनिधिहरूले व्यवहारमा श्रमिक दूतकै रूपमा काम गरिरहेको भन्दै उनले एनआरएनएको भूमिकाको प्रशंसा गरे।

अदक्ष कामदार पठाउने अवस्थाको अन्त्य गर्नुपर्ने

प्रतिनिधिसभा सदस्य ऐन महरले वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्ने बताए। नेपाललाई अदक्ष कामदार पठाउने देशका रूपमा मात्र चिनिने अवस्थाको अन्त्य गर्न सीप विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

सम्मेलनले वैदेशिक रोजगारीमा अदक्ष कामदार मात्र नभई दक्ष जनशक्ति पठाउन सीपमूलक तालिम तथा सीप परीक्षण केन्द्र स्थापना गर्न सरकारसँग आग्रह गरेको छ। सीपयुक्त जनशक्ति उत्पादन तथा रोजगारीका लागि पठाउने व्यवस्थामा सरकार, निजी क्षेत्र र एनआरएनएबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

नेपालमा छुट्टै वैदेशिक रोजगार सम्मेलन गर्ने

एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले वैदेशिक रोजगारीको क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने भएकाले यस विषयमा बृहत् छलफल आवश्यक रहेको बताए। उनले केही महिनाभित्रै नेपालमा वैदेशिक रोजगारसम्बन्धी छुट्टै बृहत् सम्मेलन आयोजना गर्ने जानकारी दिए।

एनआरएनए उपाध्यक्ष जुनु गुरुङले वैदेशिक रोजगारीमा रहेका नेपालीको मानसिक स्वास्थ्यका विषयमा भइरहेको काम तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी दिइन्।

कार्यक्रममा विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था, उनीहरूले भोगिरहेका समस्या तथा समाधानका उपायबारे विषयगत प्रस्तुति गरिएको थियो। दीपक पुनले दक्षिण कोरिया, एकनाथ खतिवडाले लाओस, खगराज गौतमले जापान, तिलोचन गौतमले मलेसिया तथा युवराज न्यौपानेले मकाउमा रहेका नेपाली श्रमिकको अवस्थाबारे प्रस्तुति दिएका थिए। पत्रकार अनिल अधिकारीले पनि श्रमिकका समस्या र समाधानका उपायबारे प्रस्तुति दिए।

एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले संस्थाले वैदेशिक रोजगार तथा श्रमिकका क्षेत्रमा गरिरहेका कामबारे जानकारी गराए। कार्यक्रमको सञ्चालन यज्ञराज सुवेदीले गरेका थिए भने पत्रकार उद्धव भट्टराईले किनोट टिपोट गरेका थिए।

एनआरएनएले केही समयपछि नेपालमा वैदेशिक रोजगारसम्बन्धी छुट्टै बृहत् सम्मेलन आयोजना गर्ने जनाएको छ। सम्मेलनमा सुरक्षित वैदेशिक रोजगार, सीप विकास, श्रमिक अधिकार, उद्धार तथा पुनःएकीकरणलगायत विषयमा सरकार, सरोकारवाला निकाय र प्रवासी नेपालीबीच थप छलफल गरिने बताइएको छ।


प्रतिक्रिया