एनआरएनए जापानमा सुवास लामिछानेको नेतृत्वमा सशक्त टिम गठन, १२ विभागमार्फत गतिविधि विस्तार
काठमाडौं/जापान । गैरआवासीय नेपाली संघ अन्तर्गतको एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापान ले आफ्नो कार्यसमितिलाई थप क्रियाशील, ऊर्जाशील र प्रभावकारी बनाउन १२ वटा विभाग गठन गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ।
संशोधित विधान २०२४ को परिच्छेद ४ अन्तर्गत धारा ३६ बमोजिम गठन गरिएको यी विभागहरूमा संयोजक, सदस्य सचिव तथा सदस्यहरू मनोनयन गरिएको हो। सूचना, सञ्चार तथा प्रकाशनदेखि महिला, युवा तथा खेलकुद, शिक्षा, सांस्कृतिक, श्रम, आर्थिक लगायत विविध क्षेत्रमा विभाग विस्तार गरिएको छ।
एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने को नेतृत्वमा गठन भएको यो टिमलाई सशक्त र परिणाममुखी मानिएको छ। लामिछाने एक उर्जावान युवा, समाजसेवी तथा व्यवसायीका रूपमा चिनिन्छन्, जसले जापानमा बसोबास गर्दै नेपाली समुदायको हितमा निरन्तर सक्रिय भूमिका खेलिरहेका छन्।
नवनिर्मित विभागहरूमा श्याम शितल, अन्जु भण्डारी, दिपक बुर्जा मगर, रबिन शर्मा, नेत्र प्रसाद पाण्डे, बिष्णु प्रसाद सुवेदी, टिकाराम खरेल, मुक्तिराम खनाल, दिपक सुनार, बिष्णु सापकोटा, दिलिप कँडेल र मुक्ति राज रेग्मीलाई संयोजकको जिम्मेवारी दिइएको छ। साथै विभिन्न विभागमा सदस्य सचिव र दर्जनौँ सदस्यहरू समावेश गरिएका छन्।
संस्थाले मनोनित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। नयाँ संरचनामार्फत जापानमा रहेका नेपालीहरूको हकहित संरक्षण, समन्वय, सहयोग तथा सामाजिक–आर्थिक गतिविधि थप प्रभावकारी बनाउने लक्ष्य राखिएको बताइएको छ।
अध्यक्ष लामिछानेको नेतृत्वमा यो टिमले जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र विकासका कार्यक्रमलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।