नेपालमा २.५ अर्ब लगानीमा ‘टियर फोर’ हाइपरस्केल डेटा सेन्टर स्थापना हुने

theoutsidenepal.com

नेपालमा २.५ अर्ब लगानीमा ‘टियर फोर’ हाइपरस्केल डेटा सेन्टर स्थापना हुने


नेपालमा ठूलो डिजिटल पूर्वाधार विस्तारअन्तर्गत साढे २ अर्ब रुपैयाँ लगानीमा ‘टियर फोर’ स्तरको हाइपरस्केल डेटा सेन्टर स्थापना हुने भएको छ।


Bijuten Data Vault Pvt. Ltd. ले बिहीबार राजधानी काठमाडौंमा कार्यक्रम गर्दै कुल २४० किलोवाट क्षमताको अत्याधुनिक डेटा सेन्टर निर्माण गर्ने योजना सार्वजनिक गरेको हो।


कम्पनीका प्रबन्ध निर्देशक नवीन अग्रवालका अनुसार यो परियोजना अन्तर्गत काठमाडौंको चोभारमा १२० किलोवाट र वीरगञ्जमा १२० किलोवाट क्षमताका दुई डेटा सेन्टर निर्माण गरिनेछ। यसले उच्च सुरक्षा र विश्वसनीयतासहित सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।


उनका अनुसार यो डेटा सेन्टरले ९९.९९५ प्रतिशत ‘अपटाइम’ सुनिश्चित गर्नेछ, जसअनुसार वार्षिक रूपमा २६ मिनेटभन्दा कम समय मात्र सेवा अवरुद्ध हुन सक्नेछ। यसले बैंक, दूरसञ्चार तथा अन्य संवेदनशील क्षेत्रका डिजिटल सेवाहरूलाई ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


अग्रवालले आर्टिफिसियल इन्टेलिजेन्स (AI) आधारित प्रणाली सञ्चालनका लागि पनि यस्तो उच्चस्तरीय डेटा सेन्टर आवश्यक रहेको बताए। कम्पनीमा पूर्ण रूपमा नेपाली लगानी रहेको र प्राविधिक तथा रणनीतिक साझेदारका रूपमा भारत तथा अन्तर्राष्ट्रिय टेक कम्पनीहरूको सहकार्य रहेको जानकारी दिइएको छ।


यस परियोजनामा Google Cloud, AMD, Micron Technology लगायतका प्रविधि कम्पनीहरूको प्राविधिक सहयोग रहने बताइएको छ।


VVDN Technologies का एआई पार्टनरशिप प्रमुख मनोज बिजुवालले नेपालमा टियर फोर डेटा सेन्टर स्थापना हुनु दक्षिण एसियाकै लागि महत्वपूर्ण कदम भएको उल्लेख गर्दै नेपाल भविष्यमा डेटा सेन्टर हब बन्न सक्ने सम्भावना औंल्याए।


कम्पनीले प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु गरी भविष्यमा ५०० किलोवाट हुँदै २०३० सम्म ५ मेगावाट क्षमतासम्म विस्तार गर्ने लक्ष्य राखेको छ। चोभारमा मुख्य डेटा सेन्टर रहनेछ भने वीरगञ्जमा ब्याकअप सुविधा राखिनेछ।


यो परियोजनाले नेपालमा डिजिटल पूर्वाधार र क्लाउड सेवा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया