किशोर पन्थी ‘रामगीता विशिष्ट संचार सेवा पुरस्कार’बाट सम्मानित हुने

theoutsidenepal.com

काठमाडौँ — सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका सञ्चारकर्मी तथा खसोखास डटकमका प्रधान सम्पादक किशोर पन्थी लाई यस वर्षको ‘रामगीता विशिष्ट संचार सेवा पुरस्कार’ प्रदान गरिने भएको छ।


अमेरिकास्थित नेपाली साहित्यिक तथा सामाजिक संस्था रामगीता बाङ्मय मन्दिर ले पत्रकारितामार्फत समाजमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै पन्थीलाई उक्त सम्मान दिने निर्णय गरेको जनाएको छ।


पुरस्कार अन्तर्गत ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ। अमेरिकामा रहेर नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनुका साथै प्रवासी नेपाली समुदायका मुद्दाहरू सशक्त रूपमा उठाउँदै आएको योगदानका आधारमा उनलाई सम्मानका लागि छनोट गरिएको आयोजकले जनाएको छ।


उक्त पुरस्कार आगामी वि.सं. २०८३ वैशाख १२ गते काठमाडौँमा आयोजना हुने विशेष समारोहबीच प्रदान गरिनेछ। संस्थाकी अध्यक्ष गीता खत्री का अनुसार सो अवसरमा नगद तथा सम्मानपत्र हस्तान्तरण गरिनेछ।


करिब साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पन्थीले विशेषगरी न्यूयोर्क लाई कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी नेपाली डायस्पोरामा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका छन्। नेपालमा रहँदा उनले सगरमाथा टेलिभिजन र एबीसी टेलिभिजन नेपाल मा सम्पादक तथा कार्यक्रम सञ्चालकको रूपमा काम गरेका थिए।


हाल उनी न्युयोर्कबाट प्रकाशित हुने ‘नेपयोर्क’ का पनि प्रधान सम्पादक हुन्। साथै उनले तीनवटा पुस्तक लेखिसकेका छन्। पन्थी सन् २०१२–२०१४ सम्म नेपाली अमेरिकन पत्रकार संघ (नेजा) का महासचिव समेत रहेका थिए।


त्यस्तै, सन् २०२३ मा उनलाई सोसाइटी अफ प्रोफेशनल जर्नालिस्ट द्वारा ‘डाइभर्सिटी लिडरशिप फेलो’ का रूपमा चयन गरिएको थियो।


रामगीता बाङ्मय मन्दिरले नेपाली भाषा, साहित्य र सञ्चार क्षेत्रको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष विभिन्न विधामा सम्मान प्रदान गर्दै आएको छ।


प्रतिक्रिया