अमेरिका निवासी युवा व्यवसायी प्रिन्स युवराज कार्कीद्वारा बालेनको पक्षमा भिडियो सन्देश

theoutsidenepal.com

अमेरिका निवासी युवा व्यवसायी प्रिन्स युवराज कार्कीद्वारा बालेनको पक्षमा भिडियो सन्देश

क्यालिफोर्निया । अमेरिका निवासी नेपाली युवा व्यवसायी प्रिन्स युवराज कार्कीले सामाजिक सञ्जालमार्फत छोटो भिडियो सन्देश जारी गर्दै बालेन्द्र शाह को अभिव्यक्तिप्रति समर्थन जनाएका छन्।

कार्कीले आफ्नो भिडियो सन्देशमा कुनै पनि विषयको विरोध गर्नुअघि त्यसको वास्तविकता र पृष्ठभूमि बुझ्न आवश्यक रहेको बताएका छन्। उनले “पहिले कुरा बुझौं, अनि मात्र विरोध गरौं, विरोधका लागि मात्र विरोध नगरौं” भन्ने धारणा व्यक्त गर्दै बालेनको पछिल्लो अभिव्यक्तिलाई सकारात्मक रूपमा लिन आग्रह गरेका छन्।

उनले नेपालका युवामाझ लोकप्रिय नेताका रूपमा बालेनलाई चित्रण गर्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा उनको दृष्टिकोण र रणनीतिलाई बुझ्नुपर्ने बताएका छन्। विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धी राष्ट्रिय मुद्दामा बालेनले लिएको भनिएको कूटनीतिक दृष्टिकोणको समर्थन गर्दै उनले सबैलाई राष्ट्रिय हितका पक्षमा एकजुट हुन अपिल गरेका छन्।

कार्कीले सामाजिक सञ्जालमा फैलिने अपूर्ण जानकारीका आधारमा निष्कर्षमा नपुग्न आग्रह गर्दै राष्ट्रिय स्वाभिमान र भू–राजनीतिक विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका छन्। उनको भिडियो सन्देश यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

उल्लेखनीय छ, नेपाल–भारत सीमा विवादसँग सम्बन्धित लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले समय–समयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन्।


प्रतिक्रिया