एनआरएनए डेभलपमेन्ट फन्डलाई प्रभावकारी लगानीको माध्यम बनाउन सरकारसँग सहकार्यको प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एनआरएनए डेभलपमेन्ट फन्डसम्बन्धी लामो समयदेखि उठाउँदै आएको धितोपत्र जारीसम्बन्धी विषय कार्यान्वयनको दिशामा अघि बढेको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डप्रति धन्यवाद व्यक्त गरेको छ।
एनआरएनएका अनुसार जारी पुँजीको ८५ प्रतिशतसम्म धितोपत्र जारी गर्न सक्ने गरी प्रक्रिया अघि बढाइनु गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र प्रविधिलाई नेपालको आर्थिक विकाससँग जोड्ने महत्वपूर्ण कदम हो।
संघले एनआरएनए डेभलपमेन्ट फन्डलाई प्रभावकारी लगानीको माध्यमका रूपमा विकास गर्न आवश्यक कानुनी, नीतिगत तथा संस्थागत वातावरण निर्माणमा जोड दिएको छ। यस्तो वातावरण तयार भएमा पूर्वाधार, पर्यटन, ऊर्जा, सूचना प्रविधि, उत्पादन, कृषि लगायत नेपालका सम्भावनायुक्त क्षेत्रमा ठूलो मात्रामा लगानी परिचालन गर्न सकिने एनआरएनएको विश्वास छ।
एनआरएनएले फन्डलाई पारदर्शी, व्यावसायिक, उत्तरदायी र दिगो ढंगले सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएको छ। गैरआवासीय नेपालीहरूको लगानी सुरक्षित र प्रतिफलमुखी बनाउन सरकारले आवश्यक सहजीकरण, नियामकीय स्पष्टता तथा प्रक्रियागत सरलता सुनिश्चित गर्नुपर्ने संघको भनाइ छ।
नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीहरूको लगानीलाई थप प्रोत्साहन गर्ने उद्देश्यसहित ‘नेपालमा लगानी, नेपालको समृद्धिमा योगदान’ भन्ने भावनालाई अघि बढाउँदै एनआरएनए डेभलपमेन्ट फन्डलाई राष्ट्रिय आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न सबै पक्षसँग सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता पनि संघले जनाएको छ।
एनआरएनएले विदेशमा रहेका नेपालीहरूको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके त्यसले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र दीर्घकालीन लगानी विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको छ।