मिडिया ट्रायलविरुद्ध सांसद जगदीश खरेलको आपत्ति, ‘सत्य लुक्दैन, कानुनी उपचार खोज्छु’
जगदीश खरेल ले आफूविरुद्ध नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता समेत रहेका खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले हाल आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्ड मा रहेको जानकारी दिँदै आफूले कुनै गल्ती नगरेकाले डराउने अवस्था नरहेको बताएका छन्।
खरेलले आफ्नो स्टाटसमा “सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ” भन्दै आफ्नो इमानदारी नै राजनीतिक यात्राको आधार रहेको उल्लेख गरेका छन्। साथै, भ्रामक, नियोजित तथा कपोलकल्पित आरोपमार्फत आफ्नो चरित्र र राजनीतिक भविष्यमा प्रहार गर्न खोजिएको दाबी गरेका छन्।
उनले यस्ता गतिविधिविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन्। खरेलको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थकहरूले उनको पक्षमा प्रतिक्रिया जनाइरहेका छन्।