दिल्ली AIIMS मा उपचार आवश्यक, जेनजी आन्दोलनकी घाइते लिजा अधिकारी आर्थिक अभावमा पीडित

theoutsidenepal.com

दिल्ली AIIMS मा उपचार आवश्यक, जेनजी आन्दोलनकी घाइते लिजा अधिकारी आर्थिक अभावमा पीडित


काठमाडौं । जेनजी आन्दोलनका क्रममा पाखुरामा गोली लागेर गम्भीर घाइते भएकी लिजा अधिकारी अझै पनि चोटको पीडासँग संघर्ष गरिरहेकी छन्। ट्रमा अस्पतालमा लामो उपचारपछि डिस्चार्ज भए पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको बताइएको छ।

एमाले नेता तथा युवा व्यवसायी डा. अबुल हुसेन अन्सारी ले सामाजिक सञ्जालमा सार्वजनिक गरेको जानकारीअनुसार लिजाले नेपालमा करिब १० महिनासम्म उपचार गराएकी थिइन्। तर अवस्था सुधार नदेखिएपछि शिक्षण अस्पतालले उनलाई भारतको All India Institute of Medical Sciences (AIIMS) मा ढिला नगरी थप उपचार गराउन सिफारिस गरेको छ।

आन्दोलनअघि निजी कम्पनीमा जागिर गरेर आफू र आमाको जीविकोपार्जन गर्दै आएकी लिजा घाइते भएपछि परिवारको आर्थिक अवस्था थप कमजोर बनेको उल्लेख गरिएको छ। उपचारमा ढिलाइ भएमा हात नै काट्नुपर्ने अवस्था आउन सक्ने चिकित्सकहरूले चेतावनी दिएको दाबी गरिएको छ।

डा. अन्सारीले लिजाको उपचारका लागि सम्बन्धित निकाय, सरकार तथा सहयोगी मन भएका व्यक्तिहरूले ध्यान दिनुपर्ने बताएका छन्। उनले लिजालाई समयमै दिल्ली पठाएर उपचार गराउन आर्थिक तथा संस्थागत सहयोग जुटाउन आग्रहसमेत गरेका छन्।

हाल लिजा अधिकारी उपचार खर्च जुटाउन कठिनाइमा रहेकी छन् भने उनको परिवारसमेत थप सहयोगको अपेक्षामा रहेको जनाइएको छ।


प्रतिक्रिया