काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री पदमा नियुक्त भई चैत १३ गते शपथ लिने मिति तय भएको छ।
रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले बीच भएको उच्चस्तरीय छलफलबाट उक्त निर्णय गरिएको हो।
उपसभापति वाग्लेका अनुसार चैत १२ गते सांसदहरूको शपथ सम्पन्न भएपछि चैत १३ गते शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय गरिएको हो। “चैत १२ गते सांसदहरूको शपथ हुन्छ, त्यसको भोलिपल्ट चैत १३ मा प्रधानमन्त्रीको शपथ हुनेछ,” उनले जानकारी दिए।
सांसदहरूको शपथ कार्यक्रम चैत १२ गते दिउँसो २ बजेका लागि तय गरिएको छ। सोही शपथपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ।
त्यसैगरी, रास्वपाका शीर्ष नेताहरूबीच भएको छलफलमा चैत १३ गते नै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिएको छ। नयाँ मन्त्रिपरिषद् गठनसँगै सरकार सञ्चालनको औपचारिक सुरुवात हुने अपेक्षा गरिएको छ।
यसअघि पनि पार्टीभित्र ‘राजकाज’ सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको र सरकार गठनलाई तीव्रता दिइएको बताइएको छ।