तमिलनाडु निर्वाचन: प्रारम्भिक रुझानमा विजयको दल अग्रता, प्रतिस्पर्धा कडा

theoutsidenepal.com

तमिलनाडु निर्वाचन: प्रारम्भिक रुझानमा विजयको दल अग्रता, प्रतिस्पर्धा कडा


भारतको तमिलनाडु विधानसभा निर्वाचनको अन्तिम नतिजा आउन अझै बाँकी रहे पनि प्रारम्भिक रुझानले प्रतिस्पर्धा निकै रोचक बनेको देखाएको छ। अप्रिल २३ मा सम्पन्न मतदानमा ८४.६९ प्रतिशत मत खसेको थियो, जसलाई उच्च सहभागिता मानिएको छ।


भारतीय निर्वाचन आयोग का अनुसार प्रारम्भिक गणनामा अभिनेता तथा राजनीतिज्ञ थलापति विजय नेतृत्वको तमिलगा वेत्रि कझगम ८३ सिटमा अगाडि देखिएको छ। अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम ५४ सिटमा अग्रता लिइरहेको छ भने द्रविड मुनेत्र कझगम ३४ सिटमा अघि देखिएको छ।


विजय स्वयं पेरम्बुर र तिरुचिरापल्ली पूर्व क्षेत्रमा अग्रता लिइरहेका छन्। यता वर्तमान मुख्यमन्त्री एम. के. स्टालिन आफ्नै बलियो क्षेत्र कोलाथुरमा पछाडि परेका छन्, जहाँ तमिलगा वेत्रि कझगमका वी. एस. बाबु अघि छन्। उपमुख्यमन्त्री उदयनिधि स्टालिन पनि चेपौक-थिरुवल्लिकेनी क्षेत्रमा पछि देखिएका छन्। साथै, स्टालिन नेतृत्वको मन्त्रिपरिषद्का १४ मन्त्री समेत प्रारम्भिक रुझानमा पछाडि देखिएका छन्।


एडप्पडी के. पलानीस्वामी नेतृत्वको एआईएडीएमकेका उम्मेदवार एडप्पडी क्षेत्रमा अगाडि छन् भने ओ. पन्नीरसेल्भम बोडिनायक्कनूरबाट अग्रता लिइरहेका छन्।


हालसम्मको अद्यावधिक रुझानअनुसार तमिलगा वेत्रि कझगम ५८ सिटमा अगाडि देखिएको छ। यही अवस्था कायम रहेमा उक्त दल राज्यको प्रमुख प्रतिपक्षका रूपमा उदाउने संकेत देखिएको छ।


यो निर्वाचनमा एकातिर पाँच वर्षे कार्यकालपछि दोस्रो कार्यकालको खोजीमा रहेका स्टालिन छन् भने अर्कोतर्फ पहिलोपटक राजनीतिमा प्रवेश गरेको विजय नेतृत्वको दलले सबै २३४ सिटमा एक्लै प्रतिस्पर्धा गरेको छ।


महत्वपूर्ण प्रतिस्पर्धी क्षेत्रहरूमा कोलाथुर, चेपौक-थिरुवल्लिकेनी, पेरम्बुर, तिरुचिरापल्ली पूर्व, बोडिनायक्कनूर, माइलापुर र सत्तुर रहेका छन्।


अधिकांश एग्जिट पोलले द्रमुकलाई सहज बहुमत आउने अनुमान गरेका थिए। तर केही सर्वेक्षण फरक देखिएका छन्। इन्डिया टुडे–एक्सिस माई इन्डियाले तमिलगा वेत्रि कझगमलाई ९८ देखि १२० सिटसम्म दिने प्रक्षेपण गर्दै त्रिपक्षीय कडा प्रतिस्पर्धाको संकेत गरेको छ। टाइम्स नाउ–जेभीसीले भने एआईएडीएमके र उसका सहयोगीलाई १२८ देखि १४७ सिट आउने अनुमान गरेको छ।


यसैबीच, एक्सिस माई इन्डियाको सर्वेक्षणमा ३७ प्रतिशत मतदाताले विजयलाई मुख्यमन्त्रीका रूपमा हेर्न चाहेको बताएका छन्, जसले यसपटकको चुनावलाई अझ चासोको विषय बनाएको छ।


प्रतिक्रिया