जापान — विश्वका प्रमुख म्याराथनहरूमध्ये एक तथा एसियाकै सबैभन्दा ठूलो र प्रतिष्ठित Tokyo Marathon आगामी मार्च १ तारिखदेखि सुरु हुँदैछ। ऐतिहासिक रूपमा यो म्याराथन Tokyo Metropolitan Government Building बाट प्रारम्भ भई Tokyo Station नजिकैको इम्पेरियल प्यालेस क्षेत्रमा पुगेर सम्पन्न हुने गर्दछ।
यस वर्षको प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन विश्वभरबाट लाखौं आवेदकहरूमध्ये छनोट भई यूके तथा अमेरिकाबाट जापान आइपुगेका नेपाली मूलका धावकहरूलाई स्वागत तथा सम्मान गरिएको छ। उक्त अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको पहलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा एनआरएनए आइसीसी (२०२५–२०२७) अध्यक्ष पदका प्रत्यासी रोविन प्रसाद शेरचन ले सहभागी धावकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सफलताको कामना गरे। उनले यस विशेष अवसरको सिर्जना गर्ने पत्रकार आनन्द कोइराला तथा आयोजक एनआरएनए जापानप्रति आभार व्यक्त गरेका छन्।
शेरचनले टोकियोवासी नेपाली समुदायलाई सिन्जुकुबाट टोकियो स्टेशनसम्म पर्ने म्याराथन मार्गमा नेपाली ढाका टोपी र राष्ट्रिय झण्डा बोकेर उपस्थित भई धावकहरूको हौसला बढाउन हार्दिक अनुरोध गरेका छन्। उनले यसलाई विश्वमञ्चमा नेपाली एकता र पहिचान प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरेका छन्।