सम्राट सिंह ठकुरी : हिन्दू अभियानका सक्रिय युवा नेतृत्वको उदय
द टन न्युज ॥ विशेष लेख
नेपालमा हिन्दू धर्म, संस्कृति र राष्ट्रिय पहिचानका पक्षमा सक्रिय युवामध्ये पछिल्लो समय चर्चामा रहेका नाममध्ये एक हुन् सम्राट सिंह ठकुरी। धार्मिक, सामाजिक तथा राजनीतिक अभियानलाई एकसाथ अघि बढाउँदै आएका उनी अहिले विश्व हिन्दु युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै नयाँ नेतृत्वका रूपमा स्थापित हुने प्रयासमा छन्।
विद्यार्थी जीवनदेखि नै सामाजिक सेवामा रुचि राख्दै आएका ठकुरीले युवालाई संगठित गर्ने, धार्मिक चेतना अभिवृद्धि गर्ने र सांस्कृतिक पहिचान संरक्षणका विषयलाई आफ्नो प्राथमिकता बनाएका छन्। यही सक्रियताले उनलाई देशभरका हिन्दू युवामाझ परिचित बनाएको छ।
विश्व हिन्दु युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्राप्त गरेसँगै उनी संगठनलाई अझ सुदृढ, अनुशासित र प्रभावकारी बनाउने अभियानमा जुटेका छन्। उनले आगामी राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्दै संगठनलाई नयाँ ऊर्जा र स्पष्ट कार्यदिशा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्यसमेत रहेका ठकुरीले लामो समयदेखि हिन्दू धर्म, संस्कृति तथा हिन्दू राष्ट्रको पक्षमा विभिन्न कार्यक्रम, जनचेतनामूलक अभियान र संगठन निर्माणमा भूमिका निर्वाह गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेशदेखि राजधानी काठमाडौंसम्म उनले बलियो संगठनात्मक सञ्जाल विस्तार गरेका छन्।
दार्चुलाको मार्मा गाउँपालिका पुर्ख्यौली घर भएका ठकुरी हाल कैलालीको अत्तरियालाई कर्मथलो बनाउँदै देशव्यापी रूपमा सक्रिय छन्। महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पसबाट अध्ययन पूरा गरेका उनले विद्यार्थी जीवनदेखि नै नेतृत्व क्षमता प्रदर्शन गरेका थिए।
धार्मिक र राजनीतिक अभियानमा प्रवेश गर्नुअघि उनी गीत–संगीत तथा मोडलिङ क्षेत्रमा पनि परिचित थिए। ‘चौलानीका छालैछाल’ लगायतका गीतमार्फत मनोरञ्जन क्षेत्रमा आफ्नो परिचय बनाएका उनले पछि समाज, संस्कृति र राष्ट्रका विषयलाई जीवनको मुख्य उद्देश्य बनाउँदै पूर्णकालीन रूपमा अभियानमा होमिएका हुन्।
उनको नेतृत्व शैलीको विशेषता कार्यकर्तासँगको प्रत्यक्ष संवाद, संगठन विस्तारमा सक्रियता र युवालाई प्रेरित गर्ने क्षमतामा देखिन्छ। संगठनभित्रको एकता, अनुशासन र समर्पणलाई उनले सधैं प्राथमिकतामा राख्ने गरेका छन्।
कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेपछि उनले संगठनका प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य, विभागीय संयोजक तथा सम्पूर्ण कार्यकर्तालाई साझा लक्ष्यका साथ अघि बढ्न आह्वान गरेका छन्। संगठनलाई देशव्यापी रूपमा अझ प्रभावकारी बनाउने, युवाको सहभागिता बढाउने र राष्ट्रिय सम्मेलनलाई ऐतिहासिक बनाउने उनको लक्ष्य रहेको छ।
सम्राट सिंह ठकुरीको राजनीतिक तथा सामाजिक यात्रा अझै निरन्तर अघि बढिरहेको छ। धार्मिक आस्था, सामाजिक सक्रियता र संगठन निर्माणलाई केन्द्रमा राखेर उनी आफ्नो नेतृत्वलाई थप परिपक्व बनाउने प्रयासमा छन्। आगामी दिनमा उनको नेतृत्वले विश्व हिन्दु युवा संघलाई कुन दिशामा अघि बढाउँछ भन्ने विषयलाई धेरैले चासोका साथ हेरिरहेका छन्।