प्रवास विभाग सम्पर्क जापानद्वारा कान्तो क्षेत्रीय अधिवेशन भव्य रूपमा सम्पन्न, २१ सदस्यीय कार्यसमिति गठन

theoutsidenepal.com

प्रवास विभाग सम्पर्क जापानद्वारा कान्तो क्षेत्रीय अधिवेशन भव्य रूपमा सम्पन्न, २१ सदस्यीय कार्यसमिति गठन

टोकियो, जापान । प्रवास विभाग सम्पर्क जापानको आयोजनामा कान्तो क्षेत्रीय अधिवेशन भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। अधिवेशनमा केन्द्रबाट प्रवास विभाग प्रमुख तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ, नेपालका लागि जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिकान्त पौडेल, एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रबिन सेरचन, संस्थापक दिलेन्द्र जोशी, एनआरएनए जापानका सुवास लामिछाने, सल्लाहकार केशव अधिकारी, महासचिव श्याम शीतल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा जापानका विभिन्न क्षेत्रबाट सहभागी नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।


अधिवेशनबाट विशाल बिकको नेतृत्वमा २१ सदस्यीय कान्तो क्षेत्रीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।


अधिवेशनसँगै आयोजित विशेष अन्तर्क्रिया कार्यक्रममा नेपालको समसामयिक राजनीति, पर्यटन प्रवर्द्धन, जापानमा रहेका नेपालीहरूको हकहित, कुक तथा वर्किङ भिसामा कार्यरत नेपालीहरूले भोगिरहेका समस्या, विद्यार्थीका चुनौती तथा अन्य समसामयिक विषयमा विस्तृत छलफल भएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रवास विभाग प्रमुख दीपक बोहोराले कार्यक्रममा उठाइएका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याई फास्ट ट्र्याकमार्फत समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी प्रतिनिधिसभा सदस्य बसुमाया तामाङले प्रवासमा रहेका नेपालीहरूको हक, हित र अधिकारको संरक्षणका लागि निरन्तर साथ र सहयोग रहने विश्वास दिलाउनुभयो।


यसै अवसरमा नेपाल र जापानमा विगत दशकौँदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका समाजसेवी दीपक बाबु नेपाललाई सम्मान गरिएको थियो। समाजसेवा, मानवीय सहयोग तथा दुःखी–गरिबहरूको सेवामा उहाँले पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।


कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन समितिका संयोजक भोजेन्द्र सुवेदी, सल्लाहकार रामु खरेल तथा सहसचिव फणिन्द्र शर्माप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ। निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गराउन उहाँहरूको योगदान प्रशंसनीय रहेको जनाइएको छ।

संगठन प्रमुख दीपक केसीका अनुसार प्रवास विभाग सम्पर्क जापानले हाल जापानभर संगठन विस्तार अभियानलाई तीव्र बनाएको छ। हालसम्म सातदेखि आठवटा क्षेत्रीय समिति गठन भइसकेका छन् भने बाँकी क्षेत्रहरूमा पनि निकट भविष्यमै संगठन विस्तार गरिने योजना रहेको छ।

देश निर्माण, सुशासन र सकारात्मक परिवर्तनको अभियानलाई थप सशक्त बनाउन जापानमा रहेका सम्पूर्ण समर्थक तथा नेपाली समुदायलाई संगठनको अभियानमा सक्रिय सहभागिता जनाउन संगठनले आह्वान गरेको छ।

कार्यक्रमको अन्त्यमा अधिवेशन तथा अन्तर्क्रिया कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण अतिथि, पत्रकार, स्वयंसेवक, सहयोगी संस्था तथा सहभागीहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।


प्रतिक्रिया