नयाँ पुस्तालाई अवसर दिनुपर्छ, सरकारको कामसँगै सही सूचना प्रवाह आवश्यक : भुवन अधिकारी
काठमाडौं । सपना ग्रुपका अध्यक्ष एवं वरिष्ठ समाजसेवी भुवन अधिकारीले नेपालमा नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी सम्हाल्ने अवसर दिनुपर्ने बताएका छन्। उनले वर्तमान सरकारले गरिरहेका कामहरू समग्रमा सकारात्मक रहेको आफ्नो व्यक्तिगत धारणा सार्वजनिक गर्दै सरकारको कामसँगै जनतामाझ सही, विश्वसनीय र नियमित सूचना प्रवाह हुनुपर्नेमा जोड दिएका छन्।
अधिकारीले सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत विश्लेषण सार्वजनिक गर्दै देश युवाहरूले चलाउनुपर्ने सोच आफूलाई सही लागेको बताएका छन्। नयाँ पुस्ता अगाडि आउनुपर्ने, नयाँ सोच र कार्यशैली विकास हुनुपर्ने भन्दै उनले पुरानो शैलीभन्दा फरक ढंगले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखेका छन्।
उनका अनुसार परिपक्वता उमेरले मात्र निर्धारण गर्दैन। काम गर्दै जाँदा प्राप्त हुने अनुभवले पनि नेतृत्वलाई परिपक्व बनाउने भएकाले नयाँ अनुहारलाई काम गर्ने अवसर दिनु आवश्यक छ। नयाँ पुस्ताबाट केही गल्ती हुन सक्ने भए पनि साना–साना जिम्मेवारी सम्हाल्दै अनुभव हासिल गर्ने अवसर पाएपछि उनीहरूमा क्रमशः परिपक्वता आउने अधिकारीको भनाइ छ।
अधिकारीले नेपालको अहिलेको प्रमुख समस्या राजनीतिकभन्दा पनि सूचना र भ्रमको समस्या भएको टिप्पणी गरेका छन्। लामो समयदेखि राजनीतिमा रहेका शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरूले देशको राजनीति लामो समयदेखि नियाल्दै आएको उल्लेख गर्दै उनले पुस्तान्तरणको प्रक्रियालाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्।
उनले संकटका बेला जनतालाई सही र आधिकारिक सूचना समयमै उपलब्ध गराउने प्रणाली नेपालमा अझै कमजोर रहेको बताए। ग्यास अभावजस्ता परिस्थितिमा आधिकारिक सूचना नहुँदा नागरिकमा त्रास फैलिने र आवश्यकताभन्दा बढी वस्तु सञ्चय गर्ने प्रवृत्ति बढ्न सक्ने उनको भनाइ छ।
“ग्यासको अभाव भयो भने मानिसहरू डराएर लाइनमा बस्छन्। एउटा परिवारले आवश्यकताभन्दा धेरै सिलिन्डर घरमा राख्दा अर्को परिवारलाई अभाव हुन सक्छ,” अधिकारीले उदाहरण दिँदै भनेका छन्। यस्तो अवस्थामा सरकारले जनतामा डर होइन, विश्वास पैदा गर्नुपर्ने उनको धारणा छ।
उनले जापानको उदाहरण दिँदै संकटका समयमा सरकार र सम्बन्धित निकायले नागरिकलाई स्पष्ट सूचना दिने, आवश्यक वस्तुको उपलब्धताबारे जानकारी गराउने र संयमित रहन आग्रह गर्ने प्रणाली विकास गरेको उल्लेख गरेका छन्।
नेपालमा पनि विश्वसनीय सार्वजनिक सूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा अधिकारीले जोड दिएका छन्। सरकारी टेलिभिजनसहित आधिकारिक सञ्चार माध्यमबाट देशको अवस्था, ग्यास तथा खाद्यान्नको उपलब्धता, वितरण प्रणाली र सरकारले गरिरहेका कामबारे नियमित तथा स्पष्ट जानकारी जनतालाई दिनुपर्ने उनको सुझाव छ।
सामाजिक सञ्जाल र YouTube बाट सूचना प्राप्त गर्ने क्रम बढेसँगै सत्य, अनुमान र गलत सूचनाबीचको भिन्नता छुट्याउन नागरिकलाई कठिन भइरहेको अधिकारीको भनाइ छ। अपुष्ट सूचना, सनसनीपूर्ण शीर्षक र डर पैदा गर्ने सामग्रीले नागरिकको मानसिकतामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनले जिम्मेवार सूचना प्रवाहमा सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।
अधिकारीका अनुसार सरकारको काम राम्रो भए पनि त्यसबारे जनतासम्म सही जानकारी पुग्न सकेन भने नागरिकले सरकारको सकारात्मक कामको अनुभूति गर्न सक्दैनन्।
“नेपाललाई अहिले केवल नयाँ नेता होइन—नयाँ सोच, जिम्मेवार नेतृत्व, सही सूचना र जनतामा विश्वास पैदा गर्ने शासन प्रणाली चाहिएको छ,” अधिकारीले आफ्नो विश्लेषणमा उल्लेख गरेका छन्।
सरकारले विकास र सुधारका कामसँगै ती कामबारे सत्य, स्पष्ट र नियमित जानकारी जनतासम्म पुर्याउनुपर्नेमा उनले जोड दिएका छन्। जनताले आधिकारिक सूचना नपाएको अवस्थामा सामाजिक सञ्जालमा फैलिने हल्लाले नै देशको धारणा निर्माण गर्ने अवस्था आउन सक्ने भन्दै अधिकारीले सरकारलाई ‘काम पनि गरौं, गरेको कामको जानकारी पनि जनतालाई दिऔँ’ भन्ने आग्रह गरेका छन्।