नेकपा (एमाले) का नेता Abul Hussain Ansari ले Gagan Kumar Thapa को सामाजिक सञ्जाल स्टाटस सेयर गर्दै मधेशको वास्तविकता नबुझी राष्ट्रको नेतृत्व दाबी गर्न नसकिने टिप्पणी गरेका छन्।
उनले आफ्नो फेसबुक स्टाटसमा लेख्दै “राष्ट्रको छोरा र मधेसको छोरा बन्न सजिलो छैन, जबसम्म भूगोल बुझ्दैन तबसम्म छोरा हुन सक्दैन” भन्दै मधेशको भूगोल, समाज र जनभावना बुझ्नु आवश्यक रहेको उल्लेख गरेका छन्।
अन्सारीले यसअघि पनि आफूले थापालाई काठमाडौं नछोड्न सुझाव दिएको स्मरण गराउँदै मधेशलाई बुझ्न नसकिएको संकेत गरेका छन्। “मैले कुनै बेला तपाईँलाई भनेकै थिएँ दाइ, काठमाडौं नछोडोस्। मधेश तपाईँले बुझ्न सक्नुभएको छैन,” उनले स्टाटसमा लेखेका छन्।
उनले आफूजस्ता सामान्य मानिसहरूको आवाज नेताहरूले सहजै स्वीकार नगर्ने गुनासो पनि गरेका छन्। “हामी जस्ता निरीहको कुरा त तपाईँलाई पच्दैन होला,” भन्दै उनले टिप्पणी गरेका छन्।
यद्यपि अन्सारीले अब विगतका कमजोरी स्वीकार गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन्। “जे भयो भइहाल्यो, अब सम्झिनु, सम्हाल्नु अनि आफ्नो भूलहरू स्वीकार गर्नु,” भन्दै उनले आगामी दिनका लागि शुभकामना व्यक्त गरेका छन्।
एमाले नेता अन्सारीको यो टिप्पणी नेपाली कांग्रेसका सभापति थापाको स्टाटस सेयर गर्दै आएको भएकाले सामाजिक सञ्जालमा यसबारे विभिन्न प्रतिक्रिया देखिन थालेका छन्।