आईटीमार्फत विश्वस्तरको सम्भावना भित्र्याउने गगन थापाको प्रतिबद्धता, ‘डाँडामै बसेर युवाले २–३ लाख कमाउने दिन टाढा छैन’

theoutsidenepal.com

आईटीमार्फत विश्वस्तरको सम्भावना भित्र्याउने गगन थापाको प्रतिबद्धता, ‘डाँडामै बसेर युवाले २–३ लाख कमाउने दिन टाढा छैन’


काठमाडौँ — गगन थापाले नेपाली युवाहरूलाई सूचना प्रविधि (आईटी) क्षेत्रमार्फत विश्वस्तरका अवसरसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का उम्मेदवार थापाले सामाजिक सञ्जालमार्फत आफ्नो दीर्घकालीन ‘रोडम्याप’ सार्वजनिक गर्दै नेपालमै बसेर महिनाको २–३ लाख रुपैयाँ आम्दानी गर्ने वातावरण बनाउन सकिने बताएका हुन्।


“केही समयअघि मैले अबको केही वर्षमा नेपाली युवाहरूले नेपालकै डाँडाहरूमा बसेर महिनाको २–३ लाख कमाउन सक्नेछन् भनेको कुनै ‘र्‍यान्डम स्टेटमेन्ट’ थिएन,” उनले उल्लेख गरेका छन्। “त्यो एउटा सपना थियो—नेपालको आईटी सेक्टरलाई केही वर्षमा कहाँसम्म पुर्‍याउन सकिन्छ भन्ने स्पष्ट रोडम्याप थियो।”


थापाका अनुसार डिजिटल पूर्वाधार विस्तार, उच्चस्तरीय सीप विकास, स्टार्टअप प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारसँग सीधा पहुँच सुनिश्चित गरिए नेपाल आईटी सेवाको ‘ग्लोबल हब’ बन्न सक्ने सम्भावना छ। उनले आईटीमार्फत डलर आम्दानी भित्र्याउँदै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताए।


उनले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्यमार्फत प्रविधिमैत्री नीति, कर सहुलियत, इन्क्युबेसन सेन्टर र अन्तर्राष्ट्रिय आउटसोर्सिङ बजारमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। “आईटी सेक्टरमार्फत ‘ग्लोबल स्केल’ का सम्भावनाहरू नेपालमा भित्र्याउने हाम्रो प्रतिबद्धता हो,” थापाले जोड दिए।


उनको भनाइअनुसार आईटी क्षेत्रको तीव्र विकासले ग्रामीण तथा दुर्गम क्षेत्रका युवालाई समेत समान अवसर दिलाउँदै वैदेशिक रोजगारीको विकल्प स्वदेशमै निर्माण गर्ने आधार तयार गर्नेछ।

प्रतिक्रिया