मध्यपूर्व संकट: वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन संस्थाभित्र विशेष संयन्त्र निर्माण गरिने जानकारी गरे

theoutsidenepal.com

गैरआवासीय नेपाली संघ (NRNA) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले एक महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार, राहत तथा समन्वयका विषयमा विस्तृत छलफल गरिएको छ।


NRNA का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले संकट व्यवस्थापनलाई प्रभावकारी बनाउन संस्थाभित्र विशेष संयन्त्र निर्माण गरिने जानकारी दिनुभयो। उहाँका अनुसार आपतकालीन अवस्थामा छिटो उद्धार तथा सहयोग पुर्‍याउन संस्थागत सहकार्य अपरिहार्य रहेको छ।


त्यसैगरी, संघका अध्यक्ष भुवन गुरुङले मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा, उद्धार र हितका लागि दुवै संस्थाबीच मजबुत समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।


छलफलका क्रममा दुवै पक्षले विदेशमा संकटमा परेका नेपालीहरूको हितलाई पहिलो प्राथमिकतामा राख्दै संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वैदेशिक रोजगारीसँग सम्बन्धित साझा मुद्दामा सहकार्य गर्दै दीर्घकालीन समाधान खोज्ने विषयमा समेत सहमति भएको जनाइएको छ।


भेटका क्रममा वैदेशिक रोजगार व्यवसायी संघले NRNA का नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो।


प्रतिक्रिया