जापानका नेपाली युवा व्यवसायी टीका श्रेष्ठद्वारा बाढीपीडितका लागि २१ लाख येन सहयोग

theoutsidenepal.com

जापानका नेपाली युवा व्यवसायी टीका श्रेष्ठद्वारा बाढीपीडितका लागि २१ लाख येन सहयोग

टोकियो, जापान । जापानमा व्यवसाय गर्दै आएका नेपाली युवा व्यवसायी टीका श्रेष्ठले नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि २१ लाख जापानी येन आर्थिक सहयोग गरेका छन्।

विपद्को कठिन घडीमा पीडित परिवारलाई केही राहत पु¥याउने उद्देश्यले श्रेष्ठले उक्त रकम सहयोग गरेका हुन्। जापानमा व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत मातृभूमिमा परेको विपत्तिमा सहयोगको हात बढाएका हुन्।


श्रेष्ठका अनुसार अगस्ट ३१, २०२६ मा येहे रेमिटमार्फत २१ लाख जापानी येन नेपाल पठाइएको हो। उक्त रकम रु. १९ लाख ९६ हजार ५० बराबर हुने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको विवरण प्राप्त भएको छ।

रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा देश तथा विदेशमा रहेका नेपालीहरूबाट राहत तथा उद्धारका लागि सहयोग जुटिरहेको छ। यही क्रममा जापानमा रहेका नेपाली व्यवसायी श्रेष्ठको यो सहयोग पनि पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि महत्वपूर्ण योगदानका रूपमा हेरिएको छ।

विपद्को समयमा विदेशमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय भावना प्रस्तुत गर्दै श्रेष्ठले गरेको आर्थिक सहयोगले प्रभावित नागरिकको राहतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालमा प्राकृतिक विपद्का कारण संकटमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देश–विदेशमा रहेका नेपालीहरूबाट सहयोग गर्ने क्रम जारी छ।


प्रतिक्रिया