नयाँ दिल्ली, २० जुन २०२६ — लद्दाखको लेहस्थित पवित्र सिन्धु घाटमा आगामी जुन २२ देखि २६ सम्म आयोजना हुन लागेको ३०औँ सिन्धु दर्शन यात्रा कुम्भमा आठ देशका राजदूत तथा उच्चस्तरीय कूटनीतिक प्रतिनिधिहरू सहभागी हुने भएका छन्।
सिन्धु दर्शन यात्रा समितिको संरक्षकत्व तथा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचारक श्री इन्द्रेश कुमारको संरक्षणमा आयोजना हुन लागेको यस धार्मिक तथा सांस्कृतिक महोत्सवका लागि वरिष्ठ भारतीय नेता डा. विजय जोली आज नयाँ दिल्लीबाट लेह–लद्दाख प्रस्थान गरेका छन्।
जुन २३ तारिख बिहान १०:३० बजे लेहस्थित सिन्धु घाटमा आयोजना हुने मुख्य समारोहको उद्घाटन लेह–लद्दाखका उपराज्यपाल श्री विनय कुमार सक्सेनाले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा भारतका विभिन्न राज्यबाट आएका करिब ३ हजार श्रद्धालुको सहभागिता रहनेछ। स्वागत मन्तव्य लद्दाख स्वायत्त पहाडी विकास परिषद्का प्रमुख कार्यकारी पार्षद अधिवक्ता ताशी ग्याल्सनले दिनेछन्।
भारत सरकारको संस्कृति मन्त्रालयको सहयोगमा देशका विभिन्न राज्यका सांस्कृतिक टोलीहरूले संगीत तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। कार्यक्रमको समन्वय सिन्धु दर्शन यात्रा समितिका महासचिव भूपेन्द्र कंसलले गरिरहेका छन्।
यस वर्षको विशेष आकर्षणका रूपमा फिजी, मौरिसस, श्रीलंका, दक्षिण अफ्रिका, ट्रिनिडाड एण्ड टोबागो, इक्वेडर, चिली तथा आयरल्याण्डका राजदूत तथा उच्चायुक्तहरू आफ्ना जीवनसाथीसहित कार्यक्रममा सहभागी हुने भएका छन्। आयोजकका अनुसार यसले सिन्धु दर्शन यात्राको अन्तर्राष्ट्रिय महत्वलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
कार्यक्रमअन्तर्गत १५६ देशबाट संकलित पवित्र जललाई सिन्धु नदीमा जलाभिषेक गरिनेछ। महिलाहरूको नेतृत्वमा कलश यात्रासहित सम्पन्न हुने यो विशेष धार्मिक अनुष्ठानले “वसुधैव कुटुम्बकम्” अर्थात् “सारा संसार एक परिवार हो” भन्ने भारतीय दर्शनलाई विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
विगत तीन दशकदेखि सञ्चालन हुँदै आएको सिन्धु दर्शन यात्रा कुम्भ भारतको सभ्यतागत विरासत, राष्ट्रिय एकता, आध्यात्मिक परम्परा तथा अन्तर्राष्ट्रिय मित्रताको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ।