इलाम — फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा इलाम क्षेत्र नं. २ मा चुनावी माहोल तातेको छ। २०७९ को निर्वाचनमा भारी मतान्तरसहित विजयी भइसकेका युवा नेता सुहाङ नेम्वाङ यसपटक पनि लोकप्रिय उम्मेदवारका रूपमा अगाडि देखिएका छन्। जनसम्पर्क, विकासका मुद्दा र निरन्तर सक्रियताका कारण उनको पल्ला फेरि भारी रहेको स्थानीयस्तरमा व्यापक चर्चा छ।
को हुन् सुहाङ नेम्वाङ ?
वि.सं. २०४६ फागुन ६ गते काठमाडौंमा जन्मिएका सुहाङ नेम्वाङ बुबा सुवासचन्द्र नेम्बाङ र आमा विशाल नेम्वाङका कान्छा छोरा हुन्। बाल्यकालदेखि नै अनुशासन, आत्मनिर्भरता र राष्ट्रसेवाको भावना लिएर हुर्किएका उनी अध्ययन, खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
उनले ग्यालेक्सी पब्लिक स्कुलबाट नर्सरी तहको अध्ययन सुरु गरी जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरे। ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ पूरा गरेपछि अढाइ वर्षका लागि अष्ट्रेलिया गएका उनी कानुन अध्ययनका लागि पुनः नेपाल फर्किए। ‘काठमाडौं स्कुल अफ ल’बाट एलएलबी तथा एलएलएम अध्ययन पूरा गरी उनी कानुन व्यवसायमा समेत दक्षता हासिल गरेका व्यक्ति हुन्।
शिक्षासँगै खेलकुदप्रति गहिरो लगाव राख्ने सुहाङले बुबाको प्रेरणामा इलाम स्पोर्टिङ डी मेची क्लब स्थापना गरे। खेलकुदलाई युवालाई अनुशासन, नेतृत्व र स्वस्थ समाजतर्फ डोर्याउने माध्यमका रूपमा लिँदै उनी खेल क्षेत्रको विकासमा निरन्तर लागिरहेका छन्।
बुबा सुवासचन्द्र नेम्बाङको “व्यक्ति आफैं सक्षम बन्नुपर्छ” भन्ने शिक्षाले निर्देशित सुहाङले कहिल्यै पनि पारिवारिक प्रभाव प्रयोग नगरी आफ्नै मेहनत र क्षमतामा अघि बढ्ने बाटो रोजेको बताउँदै आएका छन्।
राजनीतिक यात्रा र लोकप्रियता
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट विजयी भएपछि सुहाङले जनतासँगको सम्पर्क अझ बलियो बनाएका छन्। कृषि आधुनिकीकरण, उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएका उनी इलामका ४२ वटै वडा घुमेर समस्या पहिचानमा सक्रिय छन्।
स्थानीय बासिन्दाका अनुसार सरल स्वभाव, युवामैत्री सोच र कामप्रतिको प्रतिबद्धताले उनी अझै लोकप्रिय छन्। यही लोकप्रियता र विश्वासका कारण फागुन २१ को आगामी निर्वाचनमा पनि उनी पुनः विजयी हुने प्रबल सम्भावना देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
इलाम–२ मा यसपटक पनि सुहाङ नेम्वाङको नेतृत्व निरन्तर रहने अपेक्षासहित चुनावी माहोल थप उत्साहित बन्दै गएको छ।