मध्यपूर्व संकटबीच NRNA महाधिवेशन स्थगनको माग, नारायण आचार्यको कडा अपिल

theoutsidenepal.com

विश्वव्यापी अस्थिरता र मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण हवाई यात्रा अत्यन्त जोखिमपूर्ण बनेको भन्दै गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association - NRNA) का वर्तमान सल्लाहकार तथा पूर्व उपाध्यक्ष नारायण आचार्यले १२औँ महाधिवेशन तत्काल स्थगन गर्न माग गरेका छन्।


उनले जारी गरेको वक्तव्यमा हजारौं यात्रु विभिन्न देशमा अलपत्र परेको र मध्यपूर्वका देशहरूमा बमबारीका कारण नेपाली दाजुभाइ–दिदीबहिनीहरू प्रत्यक्ष जोखिममा रहेको उल्लेख गर्दै यस्तो विषम परिस्थितिमा संस्थाले मानवीय संवेदनशीलतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।


आचार्यले केही समूहले पुरानै शैलीमा सचिवालयको चरम दुरुपयोग गर्दै NCC हरूले पठाएका प्रतिनिधिहरूलाई मनपरी हटाएर निर्वाचन समितिमा पठाउने कार्य गरिरहेको आरोप पनि लगाएका छन्। यस्तो प्रवृत्तिले संस्थागत एकता कमजोर बनाउने भन्दै उनले अहिले NRNA का नाममा आपसी द्वन्द्व फैलाउने समय नभएको स्पष्ट पारे।


नेपाल आउने अधिकांश हवाई मार्ग मध्यपूर्व क्षेत्र हुँदै पर्ने भएकाले महाधिवेशनका नाममा प्रतिनिधिहरूलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य पार्नु गैरजिम्मेवारपूर्ण कार्य हुने उनको तर्क छ। साथै, महाधिवेशनको मिति आउन जम्मा १० दिन बाँकी रहँदा पनि प्रतिनिधि चयनमा सहमति जुट्न नसक्नु र विधानविपरीत प्रक्रिया अघि बढाउनु संस्थाको हितमा नरहेको उनको भनाइ छ।


आचार्यले नेपाल सरकारको Ministry of Foreign Affairs, NRNA स्टेरिङ कमिटी तथा निर्वाचन समितिलाई आफ्नो वैधानिक, नैतिक र जिम्मेवारीपूर्ण भूमिकालाई आत्मसात् गर्दै विदेशमा रहेका नेपालीहरूको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।


विद्यमान जटिल, संवेदनशील र अस्थिर परिस्थितिलाई बेवास्ता गर्दै महाधिवेशन अघि बढाउनु सहभागीहरूको सुरक्षामाथिको गम्भीर खेलवाड हुने चेतावनी दिँदै उनले १२औँ महाधिवेशन तत्काल स्थगन गर्ने निर्णय लिन सम्बन्धित निकायसमक्ष विश्वास व्यक्त गरेका छन्।


संकटको घडीमा संयमता, पारदर्शिता र उत्तरदायित्व प्रदर्शन गर्न विश्वभरका नेपाली समुदायले अपेक्षा गरिरहेको उल्लेख गर्दै उनले अन्त्यमा “जय NRNA” नारासहित अपिल गरेका छन्।


प्रतिक्रिया