गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदका लागि रोविन शेरचनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्। प्रवासमा रहेका नेपालीहरूको साझा संस्था एनआरएनएलाई नयाँ ऊर्जा, स्पष्ट दृष्टि र सशक्त नेतृत्व दिनुपर्ने आवश्यकता औंल्याउँदै उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।
लामो समयदेखि प्रवासमा बसेर नेपाली समुदायको हक–हित, एकता र पहिचानका लागि सक्रिय रूपमा काम गर्दै आएका शेरचनले “एकीकृत, सशक्त र परिणाममुखी एनआरएनए” निर्माण गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्। विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै अभियानमा जोड्दै संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उनको प्रमुख प्रतिबद्धता रहेको छ।
शेरचनले विशेषगरी युवा सहभागिता, प्रवासी नेपालीको लगानी, ज्ञान र सीपलाई नेपालको विकाससँग जोड्ने तथा एनआरएनएलाई विश्वभरका नेपालीहरूको भरोसायोग्य संस्था बनाउने योजनासहित आफ्नो उम्मेदवारी अघि सारेका छन्।
उनको उम्मेदवारीसँगै एनआरएनएभित्र नयाँ बहस, उत्साह र नेतृत्वको प्रतिस्पर्धा थप तीव्र भएको छ। विभिन्न देशमा रहेका नेपाली समुदायका अगुवाहरूले पनि उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिँदै एनआरएनएलाई एकताबद्ध र सशक्त बनाउने नेतृत्वको आवश्यकता रहेको बताएका छन्।
एनआरएनए आईसीसीको आगामी निर्वाचनलाई प्रवासी नेपाली समुदायले चासोका साथ हेरिरहेका बेला रोविन शेरचनको उम्मेदवारीलाई महत्वपूर्ण राजनीतिक र संगठनात्मक कदमका रूपमा हेरिएको छ।