अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि राहत अभियान तीव्र
लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अफ्रिकामा रहेका एनआरएनए एनसीसी तथा नेपाली समुदायले सहयोग अभियान तीव्र बनाएका छन्।
हालसम्म एनआरएनए नाइजेरियाले ३०लाख रुपैयाँ, युगान्डाले १६ लाख एनआरएनए कंगोले १५ लाख रुपैयाँ , सेसेल्सले ८ लाख , केन्याले ४ लाख , दक्षिण अफ्रिकाले १.५ लाख , तान्जानियाले २.३ लाख , बोत्स्वानाले पचास हजार एनआरएनए घानाले १ लाख ५० हजार रुपैयाँ संकलन गरेका छन्। केन्या, सेसेल्स, तान्जानिया, दक्षिण अफ्रिका, बोत्स्वाना, इक्वेटोरियल गिनी, मोजाम्बिक र रुवान्डालगायतका अन्य अफ़्रिकिन देशमा पनि सहयोग संकलन जारी छ।
यसैबीच, नाइजेरियाको लागोसस्थित बेलोक्सी बिस्कुट कम्पनीले एनआरएनए नाइजेरिया मार्फत नेपालका बाढीपीडितका लागि नेरु २ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ। कम्पनीका प्रबन्धक विदुर घिमिरे लगायत बेलोक्सी बिस्कुट परिवारलाई एनआरएनएले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले १० हजार १०१ अमेरिकी डलर सहयोग घोषणा गरेकी छन्। साथै, प्रभावित परिवारका लागि अस्थायी आवास, ग्यास चुल्होलगायत आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
एनआरएनएका पूर्व कोषाध्यक्ष तथा ‘अफ्रिकाबाट एक करोड राहत सहयोग’ अभियानका अभियन्ता हिक्मत थापाका अनुसार अफ्रिकाबाट एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा गरिएको छ। उनका अनुसार अन्य बहुराष्ट्रिय कम्पनीहरूबाट समेत नेपालका बाढीपीडितका लागि सहयोग जुटाउने विषयमा अर्थ मन्त्रालयसँग निरन्तर समन्वय तथा छलफल भइरहेको छ। विभिन्न कम्पनी तथा संस्थाबाट थप सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनले बताए।
संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग गरिने जनाइएको छ। विपद्को यस घडीमा अफ्रिकास्थित नेपाली समुदायको सक्रियताले मातृभूमिप्रतिको ऐक्यबद्धता र मानवीय भावना थप बलियो बनाएको छ।