मध्यपूर्व संकटबीच एनआरएनएको महाधिवेशन स्थगन गर्न रोबिन शेरचनको अपिल

theoutsidenepal.com

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै निर्धारित निर्वाचन कार्यतालिका स्थगन गर्न औपचारिक अपिल गरेका छन्।


आगामी मार्च १४ देखि १६ (फागुन ३० देखि चैत २ गते) सम्म काठमाडौँमा महाधिवेशन गर्ने तयारी भइरहेका बेला उनले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला असहज घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उक्त क्षेत्रमा कार्यरत नेपाली श्रमिक दिवस श्रेष्ठको दुःखद निधन भएको र लाखौँ नेपाली प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गर्दै उनले संकटमा परेका नेपालीहरूको उद्धार, सहजीकरण र मनोबल उच्च राख्नु नै अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्।


“संकटको घडीमा चुनाव र पदको प्रतिस्पर्धाभन्दा मानवीय संवेदना र संस्थाको मूल मर्मलाई अग्रस्थानमा राख्नुपर्छ,” शेरचनले जारी अपिलमा उल्लेख गरेका छन्। उनले एनआरएनएप्रति विश्वभरका नेपालीहरूले आशा र भरोसा राखेको स्मरण गराउँदै यस्तो अवस्थामा संस्थाले एकता, सहकार्य र जिम्मेवारीको उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन्।


शेरचनले मध्यपूर्वको अस्थिर अवस्थाका कारण युरोप, अमेरिका तथा मध्यपूर्वबाट नेपाल आउन चाहने प्रतिनिधिहरूका लागि यात्रा असुरक्षित र अनिश्चित बनेको दाबी गरेका छन्। व्यापक र सुरक्षित सहभागिताविनाको महाधिवेशन अपूर्ण रहने भन्दै उनले वर्तमान अवस्था सहज नहुँदासम्म सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गर्न निर्वाचन समितिसमक्ष आग्रह गरेका छन्।


साथै, उनले कुल पञ्जीकृत सदस्यहरूको प्रमाणीकरणसहितको आधिकारिक विवरण सार्वजनिक गर्न, शुल्क नबुझाएका एनसीसी र सदस्यहरूको संख्या पारदर्शी रूपमा सार्वजनिक गरी अवैधानिक नाम हटाउन तथा विधानमा उल्लेखित ३० दिनको अनिवार्य समयसीमा सुनिश्चित गर्न माग गरेका छन्। प्रक्रिया त्रुटिपूर्ण रहेको दाबी गर्दै उनले विधिसम्मत र सर्वस्वीकार्य ढंगले नयाँ प्रक्रिया सुरु गर्नुपर्ने धारणा राखेका छन्।


यदि महाधिवेशन गर्नैपर्ने अवस्था आए पनि चुनावी प्रतिस्पर्धाभन्दा सर्वसम्मत नेतृत्व चयन गर्न उनले आह्वान गरेका छन्। सन् २०२१ को महाधिवेशनमा प्रतिनिधि विवादका कारण उत्पन्न परिस्थितिको स्मरण गराउँदै उनले पुनः विवादित प्रक्रियामा सहभागी नहुने स्पष्ट पारेका छन्।


“मेरो लागि पदभन्दा संस्था र संस्थाभन्दा यसको विश्वसनीयता र मर्यादा माथि छ,” उनले उल्लेख गरेका छन्।


अन्त्यमा उनले विश्वभर रहेका सम्पूर्ण नेपाली समुदायलाई धैर्य, संयमता र एकताका लागि हार्दिक अपिल गरेका छन्।


प्रतिक्रिया