एमालेको आपत्ति: विष्णु पौडेल पक्राउलाई ‘राजनीतिक प्रतिशोध र षड्यन्त्र’ भन्दै कडा निन्दा
काठमाडौं, असार ८ — नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल लाई सुर्खेतमा रहेका बेला गरिएको पक्राउप्रति कडा आपत्ति जनाएको छ। पार्टीले उक्त कदमलाई “गैरकानुनी, राजनीतिक प्रतिशोध र षड्यन्त्रको निरन्तरता” भन्दै निन्दा तथा भर्त्सना गरेको छ।
अध्यक्ष केपी शर्मा ओली द्वारा सोमबार जारी प्रेस वक्तव्यमा सरकारले विपक्षी दलमाथि लक्षित रूपमा गतिविधि बढाएको आरोप लगाइएको छ। एमालेले आफू सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा रहेको दाबी गर्दै वर्तमान सरकारको कदमलाई अलोकतान्त्रिक अभ्यासको निरन्तरता भनेको छ।
वक्तव्यमा विष्णु पौडेल पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेको बेला पक्राउ गरिएको उल्लेख गर्दै उनी पूर्वनिर्धारित तालिकाअनुसार कार्यक्रम सकेर काठमाडौं फर्कने तयारीमा रहेको दाबी गरिएको छ। यस्तो अवस्थामा सामान्य कानुनी प्रक्रिया अपनाउन सकिने विकल्प हुँदाहुँदै पक्राउ गरिएको भन्दै पार्टीले सरकारमाथि प्रश्न उठाएको छ।
एमालेका अनुसार सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सम्मान गर्ने राजनीतिक व्यक्तित्वमाथि “सस्तो स्टन्ट” तथा राजनीतिक लाभका लागि बदनियतपूर्वक कारबाही गरिएको हो। पार्टीले यसलाई लगातार भइरहेको राजनीतिक आक्रमण र षड्यन्त्रको अर्को कडीका रूपमा व्याख्या गरेको छ।
वक्तव्यमा वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी तथा अधिनायकवादी बाटोमा उन्मुख भएको आरोप पनि लगाइएको छ। साथै विपक्षी दलका नेतामाथि लक्षित यस्ता गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनी दिइएको छ।
एमालेले यस्तो कदमविरुद्ध सबै देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर प्रतिवाद गर्न आह्वान समेत गरेको छ।