आईजीपी दानबहादुर कार्कीद्वारा प्रहरी वृत्त गौशालाको नवनिर्मित भवन उद्घाटन
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरी वृत्त गौशालाको नवनिर्मित भवनको समुद्घाटन गर्नुभएको छ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालय तथा संरचनामाथि आगजनी र तोडफोड भएको थियो। सोही क्रममा प्रहरी वृत्त गौशालाको भवनमा समेत व्यापक क्षति पुगेपछि कार्यालय सञ्चालनमा कठिनाइ उत्पन्न भएको थियो।
क्षतिग्रस्त भवनलाई पुनःनिर्माण गरी आधुनिक तथा व्यवस्थित स्वरूपमा तयार पारिएको हो। स्थानीय नागरिक, समुदाय तथा प्रहरीबीचको सहकार्यमा पुनर्निर्माण सम्पन्न हुनु प्रहरी–नागरिक सम्बन्ध र सामुदायिक सहकार्यको सकारात्मक उदाहरणका रूपमा लिइएको छ।
भवन उद्घाटन गर्दै आईजीपी कार्कीले प्रहरी संरचना पुनर्निर्माणसँगै नागरिकलाई प्रभावकारी, सुरक्षित र सहज प्रहरी सेवा उपलब्ध गराउनेतर्फ नेपाल प्रहरी निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले विपद् तथा संकटका समयमा प्रहरी र नागरिकबीचको सहकार्यले ठूलो महत्व राख्ने उल्लेख गर्दै शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा प्रहरीसँगै समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी संरचनाहरूको पुनर्निर्माण र सेवा प्रवाहलाई सामान्य अवस्थामा फर्काउने अभियानअन्तर्गत गौशालाको भवन पुनर्निर्माण सम्पन्न भएको हो।
नवनिर्मित भवनबाट अब गौशाला क्षेत्रका नागरिकले थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री प्रहरी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।