सान फ्रान्सिस्कोस्थित नेपाली कन्सुलर कार्यालय खारेजप्रति अमेरिकास्थित नेपाली समुदायको असन्तुष्टि

theoutsidenepal.com

सान फ्रान्सिस्कोस्थित नेपाली कन्सुलर कार्यालय खारेजप्रति अमेरिकास्थित नेपाली समुदायको असन्तुष्टि

काठमाडौं / क्यालिफोर्निया – क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा रहेको नेपाली कन्सुलर कार्यालय खारेज गरिएको समाचार सार्वजनिक भएपछि अमेरिकाको पश्चिमी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायमा असन्तुष्टि बढेको छ।

अमेरिकामा रहेका नेपाली समुदायका सदस्य उत्तम कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त निर्णयप्रति दुःख र निराशा व्यक्त गरेका छन्। उनले सान फ्रान्सिस्कोस्थित कन्सुलर कार्यालय बन्द गर्ने निर्णयले क्यालिफोर्निया लगायत पश्चिम अमेरिकाका १२ भन्दा बढी राज्यमा बसोबास गर्ने हजारौं नेपाली तथा अमेरिकी नागरिकहरू प्रत्यक्ष रूपमा प्रभावित हुने बताएका छन्।

कार्कीका अनुसार उक्त कन्सुलर कार्यालय स्थापना गर्न समुदायका अगुवाहरू, स्वयंसेवकहरू तथा विभिन्न संघसंस्थाले वर्षौंसम्म निरन्तर पहल गरेका थिए। नेपाल सरकारका प्रतिनिधि, राजनीतिक नेतृत्व तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्न समुदायले ठूलो समय, श्रम र आर्थिक स्रोत खर्च गरेको उल्लेख गर्दै उनले कार्यालय बन्द गर्ने निर्णयलाई दूरदर्शिताविहीन तथा जनभावनाविपरीत भएको बताएका छन्।

उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्दै विदेशमा रहेका नेपालीहरूको सेवा, सुविधा र आवश्यकतालाई केन्द्रमा राखेर नीतिगत निर्णय लिनुपर्ने बताएका छन्। समुदायको भावना र हितलाई बेवास्ता गर्ने कदमले सरकारप्रतिको विश्वास कमजोर बन्न सक्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमा व्यक्त धारणा क्रममा कार्कीले बे एरिया तथा पश्चिम अमेरिकामा रहेका नेपालीहरूको सम्मान, सुविधा र अधिकारको संरक्षण गर्न कन्सुलर सेवा पुनःस्थापना गर्नुपर्ने माग पनि गरेका छन्।

उनको उक्त अभिव्यक्तिले सान फ्रान्सिस्कोस्थित नेपाली कन्सुलर कार्यालयको भविष्य र विदेशमा रहेका नेपाली समुदायको सेवा पहुँचबारे थप बहस सिर्जना गरेको छ।


प्रतिक्रिया