एनआरएनएलाई विवाद होइन, विश्वासको संस्था बनाऔँ : वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन
डब्लिन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले एनआरएनएलाई विवादको होइन, विश्वासको र भाषणको होइन, परिणामको संस्था बनाउनुपर्नेमा जोड दिएका छन्।
आयरल्यान्डको डब्लिनमा अगस्ट १०–११ मा सम्पन्न १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन ‘संकल्प’को उद्घाटन समारोहमा मन्तव्य राख्दै शेरचनले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप, पूँजी, प्रविधि र अनुभवलाई नेपालको समृद्धिसँग जोड्नुपर्ने बताए।
उनले एनआरएनएको आगामी एजेन्डा “रेमिट्यान्सबाट साझेदारीतर्फ, श्रमबाट लगानीतर्फ र विदेशको अनुभवबाट मातृभूमिको समृद्धितर्फ” हुनुपर्ने धारणा राखे।
एनआरएनए आईसीसीको ट्रेड एन्ड इन्भेस्टमेन्ट विभागका अध्यक्ष तथा डायस्पोरा फन्डका उपाध्यक्षसमेत रहेका शेरचनले विदेशमा रहेका नेपालीमा नेपालमा लगानी गर्ने ठूलो इच्छा र क्षमता भए पनि त्यसलाई वास्तविक लगानीमा रूपान्तरण गर्न नीतिगत स्थिरता, सरल कानुनी प्रक्रिया, लगानी सुरक्षा र राज्यप्रतिको विश्वास आवश्यक रहेको बताए।
उनका अनुसार एनआरएन डेभलपमेन्ट फन्ड र डायस्पोरा फन्डजस्ता संस्थागत संरचनामार्फत विदेशमा रहेका नेपालीको पूँजीलाई नेपालका विकास परियोजना तथा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सकिन्छ।
नागरिकताको निरन्तरताको माग
शेरचनले विदेशमा रहेका नेपालीको नागरिकता तथा पहिचानको विषयलाई व्यवहारिक र सम्मानजनक ढंगले सम्बोधन गर्न नेपाल सरकारसँग आग्रह गरे।
“नागरिकता केवल कागजको विषय होइन, यो हाम्रो जन्मभूमिसँग जोडिएको पहिचान हो,” भन्दै उनले विदेशमा रहेका नेपालीको नागरिकताको निरन्तरता सहज रूपमा कायम गर्नुपर्ने माग गरे।
प्रमुख अतिथिमार्फत नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह गर्दै उनले विदेशमा रहेका नेपालीले राज्यसँग सुविधा मात्र नभई राज्य निर्माणमा साझेदार बन्ने अधिकार र अवसर खोजिरहेको बताए।
‘जहाँ नेपाली, त्यहाँ राज्यको सहयोग’
शेरचनले विदेशमा रहेका नेपालीप्रति राज्यको भूमिका राहदानी दिने र समस्या पर्दा उद्धार गर्ने सीमित दृष्टिकोणभन्दा माथि उठ्नुपर्ने बताए।
विशेषगरी विदेश जाने नेपाली युवालाई गन्तव्य मुलुकको भाषा, सीप, श्रम अधिकार र कानुनी व्यवस्थाबारे पर्याप्त जानकारी दिने प्रणाली बलियो बनाउनुपर्ने उनको भनाइ छ। उनले दलाल तथा बिचौलियाबाट नेपाली युवाहरू प्रभावित हुने अवस्था अन्त्य गर्न राज्यको उपस्थिति विदेशमा समेत प्रभावकारी बनाउनुपर्ने बताए।
उनले भने, “जहाँ नेपाली, त्यहाँ राज्यको सहयोग।”
ठूलो नेपाली समुदाय रहेका मुलुक तथा शहरमा आवश्यकताअनुसार राज्यका हेल्पडेस्क, सूचना केन्द्र र नियोगीय सेवाहरू विस्तार गर्नुपर्ने उनले सुझाव दिए।
एनआरएनएको आन्तरिक एकतामा जोड
वरिष्ठ उपाध्यक्ष शेरचनले एनआरएनएको आन्तरिक एकतालाई पनि आफ्नो मन्तव्यको महत्वपूर्ण विषय बनाए।
पछिल्लो महाधिवेशनमा बृहत्तर एकताका लागि आफूले एक कदम पछाडि हट्ने निर्णय गरेको स्मरण गर्दै उनले त्यस निर्णयप्रति पछुतो नरहेको बताए।
“एनआरएनएमा पदभन्दा ठूलो सम्बन्ध हो, निर्वाचनभन्दा ठूलो एकता हो र व्यक्तिगत जितभन्दा ठूलो संस्थाको उपलब्धि हो,” उनले भने।
सहमति कायम भए पनि त्यसपछिको सहकार्य पर्याप्त भए–नभएको विषयमा नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ थियो। कुनै साथीलाई बाहिर पारिएको वा निर्णयका कारण कसैको मन दुखेको भए त्यसलाई समयमै सच्याउनुपर्ने उनले आग्रह गरे।
‘प्रतिनिधित्व, साझेदारी र नतिजा’मा एनआरएनएको भविष्य
शेरचनले एनआरएनएको आगामी यात्रा तीन आधारमा अघि बढ्नुपर्ने बताए—प्रतिनिधित्व, साझेदारी र नतिजा।
विश्वभरका नेपालीको प्रभावकारी प्रतिनिधित्व, नेपाल सरकार तथा निजी क्षेत्रसँग संस्थागत र अर्थपूर्ण साझेदारी तथा प्रतिबद्धताको परिणाममुखी कार्यान्वयन नै एनआरएनएको भविष्य निर्माणका आधार हुनुपर्ने उनले बताए।
डब्लिन सम्मेलनबाट भएका निर्णयलाई स्पष्ट कार्ययोजनामा रूपान्तरण गर्दै ‘के गर्ने, कसले गर्ने, कहिलेसम्म गर्ने र उपलब्धि कसरी मापन गर्ने’ भन्ने विषय स्पष्ट हुनुपर्नेमा उनले जोड दिए।
त्यसका लागि एनआरएनए र नेपाल सरकारबीच नियमित, संस्थागत र परिणाममुखी फलोअप संयन्त्र निर्माण गर्नुपर्ने उनको प्रस्ताव थियो।
दोस्रो पुस्तालाई नेपालसँग जोड्नुपर्ने
शेरचनले एनआरएनए अभियानले विदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई नेपालसँग जोड्ने वातावरण निर्माण गर्नुपर्ने पनि बताए।
ज्ञान भएकालाई ज्ञान बाँड्ने, पूँजी भएकालाई लगानीको अवसर दिने, सहयोग चाहिनेलाई सहयोग उपलब्ध गराउने र विश्वभर रहेका नेपालीलाई साझा उद्देश्यमा जोड्ने अभियानका रूपमा एनआरएनएलाई अघि बढाउनुपर्ने उनको धारणा थियो।
“हामी जहाँ पुगे पनि हाम्रो जरा नेपालमै छ। हामी जहाँ बसे पनि हाम्रो जिम्मेवारी मातृभूमिप्रति छ,” भन्दै उनले विदेशमा हासिल गरेको नेपालीको सफलता नेपालको समृद्धिको आधार बन्नुपर्ने बताए।
१७औँ युरोप क्षेत्रीय सम्मेलनलाई केवल औपचारिक कार्यक्रमका रूपमा नलिई साझा समस्या, सम्भावना र भविष्यका योजनामा केन्द्रित हुने अवसरका रूपमा लिनुपर्ने उनले बताए।
उनले एनआरएनएलाई विगतका विवादमा अड्किएर बस्ने संस्था नभई विगतबाट पाठ सिक्दै भविष्यतर्फ अघि बढ्ने साझा मञ्च बनाउनुपर्नेमा जोड दिए।
अन्त्यमा उनले “एकताबद्ध एनआरएनए, सुदृढ डायस्पोरा र समृद्ध नेपाल” नै सबैको साझा संकल्प हुनुपर्ने बताए।
अगस्ट १०–११ मा डब्लिनमा सम्पन्न सम्मेलनले विभिन्न विषय समेटिएको ९ बुँदे ‘डब्लिन घोषणापत्र’ जारी गरेको थियो। सम्मेलनमा एनआरएनए नेतृत्व, विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, अभियन्ता, विज्ञ तथा नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
रोबिन शेरचनले सम्मेलन सफल बनाउन योगदान गर्ने आयोजक, प्रतिनिधि, विज्ञ, अतिथि तथा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्।