सुधन गुरुङमाथि छानबिन सम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो
काठमाडौं,जेठ २२— तत्कालीन गृहमन्त्री तथा सुधन गुरुङ माथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाह समक्ष बुझाएको छ।
छानबिन समितिका संयोजक तथा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारी ले छानबिन प्रक्रिया सम्पन्न गरी ४५ पृष्ठको प्रतिवेदन सरकारलाई बुझाइएको जानकारी दिएका छन्। उनका अनुसार अब प्रतिवेदनमाथि आवश्यक निर्णय र प्रक्रिया सरकारले अगाडि बढाउनेछ।
समितिले गुरुङसँग बयान लिनुका साथै उनीमाथि लागेका आरोपबारे सम्बन्धित निकायहरूसँग जानकारी संकलन गरेको, सम्पत्ति विवरण अध्ययन गरेको तथा विभिन्न तथ्यहरू केलाएको जनाएको छ।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
के थियो आरोप?
सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट पक्राउ परेपछि उनीसँग व्यावसायिक साझेदारी रहेको विषय सार्वजनिक हुँदा सुधन गुरुङ विवादमा तानिएका थिए। साथै सम्पत्ति विवरणमा सेयर स्वामित्व नदेखाएको, विवादास्पद व्यवसायिक समूहसँग सम्बन्धित कम्पनीमा लगानी रहेको लगायतका आरोप सार्वजनिक भएका थिए।
बढ्दो जनचासो र आलोचनापछि गुरुङले ९ वैशाखमा नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। राजीनामापछि उनले आफूमाथिका आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए।
सरकारले पछि औपचारिक रूपमा छानबिन समिति गठन गरेको थियो। अब समितिको प्रतिवेदनका आधारमा सरकारले आवश्यक निर्णय लिनेछ। राजनीतिक वृत्तमा छानबिनबाट निर्दोष ठहरिएमा गुरुङ पुनः गृहमन्त्री बन्न सक्ने चर्चा समेत चलिरहेको छ।