गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन तथा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यतालिकामा परिमार्जन गरिएको छ। निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकाल का अनुसार मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै समितिले सोमबार कार्यतालिकामा केही संशोधन गरेको हो।
समितिले अब उम्मेदवारी अनलाइनमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था गरेको जनाएको छ। यस कदमले विभिन्न देशमा रहेका प्रतिनिधिहरूलाई सहज सहभागिता सुनिश्चित गर्ने विश्वास गरिएको छ।
त्यसैगरी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकको सनाखतका लागि मार्च १२ तारिखसम्म नेपाल आइपुग्न सकिने गरी कार्यतालिका समायोजन गरिएको छ। क्षेत्रीय पदाधिकारीका लागि प्रस्तावक र समर्थक अन्य क्षेत्रबाट पनि हुन सक्ने व्यवस्था गर्ने विषयमा निर्वाचन समितिभित्र छलफल भइरहेको जानकारी दिइएको छ।
संघको १२औँ महाधिवेशन तथा निर्वाचन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने तय भएको छ। परिमार्जित कार्यतालिकाले विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सहभागिता अझ व्यापक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।