अमेरिकामा एसाइलम प्रक्रियामा ठूलो परिवर्तन, केही आवेदन अन्तर्वार्ता बिना नै अदालतमा पठाइने : अधिवक्ता बासु फुलारा

theoutsidenepal.com

अमेरिकामा एसाइलम प्रक्रियामा ठूलो परिवर्तन, केही आवेदन अन्तर्वार्ता बिना नै अदालतमा पठाइने : अधिवक्ता बासु फुलारा

काठमाडौं/न्युयोर्क, जुलाई २८ – अमेरिकाका चर्चित अध्यागमन (इमिग्रेसन) कानुन व्यवसायी अधिवक्ता बासु फुलारा (Bashu Phulara, Esq.) ले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (USCIS) ले सकारात्मक (Affirmative) एसाइलम आवेदन प्रक्रियामा महत्वपूर्ण परिवर्तन लागू गरेको जानकारी दिएका छन्। उहाँका अनुसार नयाँ Interim Final Rule फेडरल रजिस्टरमा जुलाई २८, २०२६ मा प्रकाशित हुनेबित्तिकै लागू हुनेछ। (BASHU PHULARA , P.C.⁠)


अधिवक्ता फुलाराका अनुसार अब USCIS ले निश्चित अवस्थाहरूमा Form I-589 (Affirmative Asylum Application) लाई अन्तर्वार्ता (Interview) नै नगरी सिधै अध्यागमन अदालत (EOIR) मा पठाउन सक्नेछ। यो व्यवस्था विशेष गरी अमेरिकामा बस्नका लागि वैधानिक आधार (Lawful Status) कायम नरहेका आवेदकहरूमा लागू हुनेछ।

उहाँका अनुसार सबैभन्दा धेरै असर अमेरिका प्रवेश गरेको एक वर्षभन्दा बढी समयपछि एसाइलम आवेदन दिएका व्यक्तिहरूलाई पर्न सक्छ। यदि आवेदन ढिलो परेको र त्यसको कानुनी अपवाद (Changed Circumstances वा Extraordinary Circumstances) पर्याप्त रूपमा प्रमाणित नभएको देखिएमा, Asylum Officer ले अन्तर्वार्ता नगरी नै मुद्दा अध्यागमन अदालतमा पठाउन सक्नेछन्।

यस्तै, विशेष रूपमा गम्भीर अपराध, आतंकवादसम्बन्धी कानुनी अवरोध, राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम, ‘Persecutor Bar’, ‘Firm Resettlement’ लगायतका कारण वा शरणार्थीको कानुनी परिभाषा नै स्पष्ट रूपमा पूरा नगर्ने दाबी भएका आवेदनहरू पनि अन्तर्वार्ता बिना अदालतमा रिफर गर्न सकिने व्यवस्था गरिएको छ।

अधिवक्ता फुलाराले भनेका छन् कि यसले आवेदकको कानुनी अधिकार समाप्त गर्दैन। अध्यागमन अदालतमा पुगेपछि आवेदकले आफ्नो सम्पूर्ण एसाइलम दाबी, एक-वर्षे समयसीमा नाघ्नुको कारण तथा त्यससम्बन्धी अपवादहरू अध्यागमन न्यायाधीशसमक्ष पुनः प्रस्तुत गर्न सक्नेछन्। साथै, आवश्यक परेमा Withholding of Removal लगायतका अन्य राहत पनि माग्न सक्ने अधिकार कायम रहनेछ।

उहाँले एसाइलम आवेदन दिने सबैलाई सुरुदेखि नै सम्पूर्ण प्रमाण, स्पष्ट विवरण र आवश्यक कागजातहरू पेश गर्न विशेष आग्रह गरेका छन्। विशेष गरी एक-वर्षे समयसीमा नाघेका तथा विचाराधीन (Pending) मुद्दा भएकाहरूले थप प्रमाण र स्पष्टीकरण समयमै बुझाउनु अत्यन्त महत्वपूर्ण रहेको उहाँको सुझाव छ।

अधिवक्ता फुलाराका अनुसार नयाँ नियमले Unaccompanied Alien Children (UAC) अर्थात् अभिभावकविहीन नाबालकहरूलाई भने केवल एक-वर्षे समयसीमा नाघेकै आधारमा अन्तर्वार्ता बिना अदालतमा नपठाइने व्यवस्था कायम राखेको छ। साथै USCIS ले आवश्यक ठानेमा कुनै पनि मुद्दामा अन्तर्वार्ता बोलाउन सक्ने अधिकार यथावत् रहनेछ।

उहाँले यो परिवर्तन प्रक्रियागत (Procedural) मात्र भएको स्पष्ट पार्दै एसाइलम प्राप्त गर्न आवश्यक कानुनी मापदण्ड, योग्यता वा प्रमाणको भार (Burden of Proof) मा कुनै परिवर्तन नभएको बताएका छन्। (BASHU PHULARA , P.C.⁠)


प्रतिक्रिया