सुकुम्बासी प्रभावित बिरामीलाई केएमसी दुवाकोटमा निःशुल्क उपचार सेवा
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई लक्षित गर्दै काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) युनिट–२ दुवाकोट, भक्तपुरले निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
नेपाली कांग्रेसका युवा नेता तथा चिकित्सक डा. सुनील शर्माद्वारा सञ्चालित केएमसीले सोमबार जारी गरेको विज्ञप्तिमार्फत नेपाल सरकारले नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउने अभियान सञ्चालन गरिरहेका बेला प्रभावित नागरिकहरूमा स्वास्थ्य समस्या बढ्दै गएको जनाएको छ। वर्षायाम सुरु भएसँगै स्वास्थ्य जोखिम थप बढ्ने भएकाले मानवीय संवेदनाका आधारमा यस्तो निर्णय गरिएको अस्पतालले उल्लेख गरेको छ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार सुकुम्बासी बस्ती हटाइएका वा विस्थापित भएका बिरामीहरूले केएमसी अस्पताल दुवाकोटमा पुगेर निःशुल्क उपचार सेवा लिन सक्नेछन्। औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध अन्य सम्पूर्ण उपचार सेवा निःशुल्क रहने व्यवस्था गरिएको छ।
अस्पतालले प्रभावित बिरामीलाई सहज रूपमा अस्पतालसम्म ल्याउन सचेत नागरिक, विभिन्न संघसंस्था तथा सरोकारवालासँग सहयोगका लागि आग्रह समेत गरेको छ।
डा. सुनील शर्मा सामाजिक तथा मानवीय सेवामा सक्रिय नेताका रूपमा परिचित छन्। प्रतिनिधि सभा सदस्य रहँदा तलब–भत्ता नलिने निर्णय, गम्भीर बिरामीको निःशुल्क उपचार, देशव्यापी स्वास्थ्य शिविर सञ्चालन, घाइतेको उपचार सहयोग तथा एम्बुलेन्स हस्तान्तरणजस्ता कार्यले उनलाई फरक पहिचान दिएको छ।