‘आईजीपी दानबहादुर कार्कीलाई फूली उतार्न खोजिँदैछ’ : दील निशानी मगर
काठमाडौं — लोकप्रिय लेखक एवं राजनीतिक विश्लेषक दील निशानी मगरले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि भइरहेको आलोचना तथा आरोपप्रति प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मगरले सांसद र आईजीपी बन्ने विषयलाई तुलना गर्दै आईजीपीको जिम्मेवारीमा पुग्नु सामान्य राजनीतिक पद प्राप्त गरेजस्तो सहज नभएको टिप्पणी गरेका छन्।
मगरले लेखेका छन्, ‘सांसद जो कोही बन्न सक्छ, तर आईजीपी जो कोही बन्न सक्दैन।’ उनका अनुसार विगतमा थुप्रै प्रहरी अधिकारी सांसद बने पनि हालसम्म कुनै सांसद आईजीपी बन्न नसकेको अवस्था छ।
उनले पछिल्लो समय प्रहरी नेतृत्वमाथि भइरहेको गतिविधिप्रति पनि असन्तुष्टि जनाएका छन्। घाँटीमा ओशोको माला झुन्ड्याएर प्रहरी अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गर्नेहरूबाटै विदेशीको इशारामा आईजीपीको फूली उतार्न खोजिएको उनको आरोप छ।
मगरले आईजीपी दानबहादुर कार्कीलाई आफूले व्यक्तिगत रूपमा नचिनेको स्पष्ट पार्दै उनी नेपाल प्रहरीका ‘काबिल अनुसन्धानकर्तामध्ये एक’ भएको दाबी गरेका छन्।
उनले कार्कीमाथि प्रश्न उठाउनेहरूलाई प्रमाणसहित सम्बन्धित निकायमा जानसमेत चुनौती दिएका छन्। गोप्य उजुरीलाई आधार बनाएर सार्वजनिक रूपमा विभिन्न आरोप लगाउनुभन्दा सिधै अदालत वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा लैजानुपर्ने उनको भनाइ छ।
‘धरौटी बुझाएर तारिख धाइरहेकाहरूलाई उनको नाम घाँडो हुनु स्वाभाविक हो,’ मगरले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।
प्रहरी नेतृत्वमाथि उठाइएका प्रश्न, गोप्य उजुरी र सार्वजनिक आरोपका विषयमा उनले कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
आफ्नो स्टाटसको अन्त्यमा मगरले सरकारलाई लक्षित गर्दै लेखेका छन्, ‘सरकार तिम्रो होला, तर देश हाम्रो पनि हो।’
मगरको यो अभिव्यक्तिले पछिल्लो समय नेपाल प्रहरीको नेतृत्व, आईजीपीमाथि उठाइएका प्रश्न तथा राजनीतिक र संस्थागत दबाबबारे सामाजिक सञ्जालमा भइरहेको बहसलाई थप चर्काएको छ।