युवा नेतृत्वको पक्षमा आवाज: एमाले संसदीय दलको नेतामा सुहाङ नेवाङलाई अघि सार्न माग

theoutsidenepal.com

युवा नेतृत्वको पक्षमा आवाज: एमाले संसदीय दलको नेतामा सुहाङ नेवाङलाई अघि सार्न माग


काठमाडौँ — संसदलाई जनताको आवाज प्रतिध्वनित गर्ने सर्वोच्च मञ्चका रूपमा परिभाषित गर्दै जितेन्द्र बानियाले नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र युवा नेतृत्वको आवश्यकता औँल्याएका छन्। उनले संसदीय दलको नेताका रूपमा सुहाङ नेवाङलाई अघि सार्नुपर्ने बताएका छन्।


रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्ष बानियाले सार्वजनिक धारणा राख्दै संसद केवल सत्ता सञ्चालन गर्ने थलो मात्र नभई जनताको आवाज उठाउने, सरकारलाई खबरदारी गर्ने र देशहितका मुद्दामा स्पष्ट बहस गर्ने प्रमुख संस्था भएको उल्लेख गरेका छन्। उनले प्रतिपक्षको भूमिका अझ प्रभावकारी बनाउन नयाँ सोच र ऊर्जासहितको नेतृत्व अपरिहार्य भएको बताएका छन्।



“जनता अब भविष्य खोज्दैछन्”



बानियाका अनुसार, नेपाली जनता अब केवल विगतका उपलब्धि र इतिहासमा सीमित रहन चाहँदैनन्। “आजको समाजले स्पष्ट भविष्यको मार्गचित्र खोजिरहेको छ,” उनले भने। लामो राजनीतिक अभ्यासले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनु समयको आवश्यकता भएको उनको भनाइ छ।



सुहाङ नेवाङप्रति विश्वास



उनले सुहाङ नेवाङलाई युवा, ऊर्जाशील र दूरदर्शी नेताका रूपमा चित्रण गर्दै संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्षम रहेको विश्वास व्यक्त गरेका छन्। “उहाँमा समसामयिक बुझाइ, स्पष्ट दृष्टिकोण र देशप्रति प्रतिबद्धता छ,” बानियाले उल्लेख गरेका छन्।



एमालेभित्र नयाँ बहस



एमालेभित्र संसदीय दलको नेतृत्वबारे बहस भइरहेका बेला बानियाको धारणा सार्वजनिक हुनु अर्थपूर्ण मानिएको छ। उनले पार्टीले अब केवल अनुभवको आधारमा होइन, भविष्य निर्माण गर्ने दृष्टिकोणका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।



 नयाँ दिशा र सोचको संकेत



उनका अनुसार, सुहाङ नेवाङलाई संसदीय दलको नेतामा अघि सार्नु भनेको केवल व्यक्तिको चयन मात्र नभई नयाँ सोच, नयाँ दिशा र समृद्ध नेपालको यात्रातर्फको महत्वपूर्ण कदम हुनेछ।


एमालेभित्र युवा नेतृत्वको माग क्रमशः सशक्त बन्दै गएको संकेत देखिएको छ। यस्तो अवस्थामा सुहाङ नेवाङजस्ता नेताको उदयले पार्टीभित्र मात्रै होइन, राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा र बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया