दुबईबाट नेपालीको भरोसा बने विवेक तिमिल्सिना, हजारौं श्रमिकको सहारा बन्दै सामाजिक सेवामा अग्रसर
काठमाडौं । चितवनका समाजसेवी विवेक तिमिल्सिना अहिले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेर नेपाली समुदायका लागि आशा र भरोसाको नाम बन्दै गएका छन्। विगत करिब सात वर्षदेखि दुबईलाई कर्मथलो बनाएका उनले पछिल्ला तीन वर्षदेखि विवेक टेक्निकल सर्भिस एलएलसी (Bibek Technical Service LLC) सञ्चालन गर्दै वैदेशिक रोजगारीमा रहेका तथा जान चाहने नेपालीलाई आवश्यक परामर्श, सहयोग र मार्गदर्शन प्रदान गर्दै आएका छन्।
सामाजिक सेवाप्रति समर्पित तिमिल्सिना विशेषगरी समस्यामा परेका नेपाली श्रमिकको उद्धार, कानुनी तथा प्रशासनिक प्रक्रियामा सहजीकरण, सही सूचना प्रवाह र सुरक्षित वैदेशिक रोजगारीबारे जनचेतना फैलाउने अभियानमा सक्रिय छन्। विभिन्न समस्यामा परेका नेपालीलाई सम्बन्धित निकायसँग समन्वय गरी सहयोग पुर्याउने उनको प्रयासले धेरैको जीवनमा सकारात्मक प्रभाव पारेको बताइन्छ।
सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत पनि उनी नियमित रूपमा वैदेशिक रोजगारीसम्बन्धी सचेतनामूलक सामग्री, उपयोगी जानकारी र सहयोगका सन्देश साझा गर्दै आएका छन्। उनका भिडियो तथा सामग्री लाखौं पटक हेरिएका छन् भने उनका सामाजिक सञ्जाल खातामा ठूलो संख्यामा नेपालीले विश्वासका साथ फलो गरिरहेका छन्।
विशेषगरी दलाल र ठगीको जालमा फस्न सक्ने नेपालीलाई सचेत गराउने, वैदेशिक रोजगारीसम्बन्धी भ्रम चिर्ने र समस्यामा परेकाहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यमा उनको सक्रियता उल्लेखनीय मानिन्छ।
दुबईमा बसेर पनि नेपाली समुदायको हितलाई केन्द्रमा राखेर निरन्तर सामाजिक सेवामा सक्रिय विवेक तिमिल्सिना अहिले धेरै नेपालीका लागि भरोसाका पात्रका रूपमा परिचित बन्दै गएका छन्। उनको सेवामूलक अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीबीच सकारात्मक सन्देश फैलाइरहेको छ।