धनगढी — नेपाल प्रहरी का सुदूरपश्चिम प्रदेश प्रवक्ता एसएसपी पदम बहादुर विष्ट ले फागुन २१ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको बताएका छन्। टन मिडियासँगको विशेष संवादमा उनले सुदूरपश्चिम प्रदेशभर सुरक्षा व्यवस्था कडा पार्दै बहु-स्तरीय रणनीति लागू गरिएको जानकारी दिए।
उनका अनुसार निर्वाचन अवधिभर संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूको पहिचान गरी अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको थियो। सीमावर्ती जिल्लाहरूमा विशेष निगरानी, मोबाइल गस्ती, संयुक्त सुरक्षा बैठक तथा आकस्मिक प्रतिक्रिया टोली तयारी अवस्थामा राखिएको थियो।
एसएसपी विष्टले बताए अनुसार प्रदेशका पहाडी तथा दुर्गम क्षेत्रहरूमा हवाई तथा स्थल मार्गबाट आवश्यक जनशक्ति र सामग्री व्यवस्थापन गरिएको थियो। सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना नियन्त्रणका लागि साइबर निगरानी समेत सक्रिय पारिएको उनले उल्लेख गरे।
निर्वाचनको अघिल्लो रातदेखि मतगणना सम्पन्न नहुँदासम्म २४ सै घण्टा उच्च सतर्कता अपनाइएको र अन्य सुरक्षा निकायसँग समन्वय गर्दै एकीकृत कमाण्ड प्रणालीमार्फत काम गरिएको उनले स्पष्ट पारे।
उनले भने, “मतदाताले निर्धक्क भएर मतदान गर्न पाउने वातावरण सिर्जना गर्नु नै हाम्रो पहिलो प्राथमिकता थियो। सुदूरपश्चिममा समग्र रूपमा निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको छ।”
प्रहरीका अनुसार सानातिना घटनाबाहेक कुनै ठूलो अप्रिय घटना नभएको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। निर्वाचनमा सहयोग पुर्याउने मतदाता, कर्मचारी तथा सञ्चारकर्मीप्रति प्रवक्ता विष्टले आभार व्यक्त गरेका छन्।